१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा गायक प्रेमध्वज प्रधानले प्रस्तुति दिने

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०८:०३

लण्डन । नेपाली सांगीतिक क्षेत्रका धरोहर वरिष्ठ गायक प्रेमध्वज प्रधानले आउँदो १ जुन शनिबारका दिन लण्डनमा विभिन्न चर्चित गीतहरु गाउने भएका छन् ।
८२ बर्षिय गायक प्रधानले मगर संघ युकेले फार्नबोरोस्थित फार्नबोरो फुटबल स्टुडियममा आयोजना गर्न लागेको १३ औं नेपाली ओपन कन्सर्टमा गाउने भएका छन् । उनले ‘घुम्तीमा नआऊ है…., तारा मात्र होइन तिमीलाई जुन….यो मौसम म… लगायत दर्जनौं गीत गाइसकेका छन् । त्यस्तै, बुगीबुगीकी बिजेता प्रगति पुन, चर्चित लोकगायक कुलेन्द्र बिक, सन्ध्या बुढा (काउली बुढी), निरु श्रीष, हेमन्त आले, नेपाली चलचित्र नायक धिरज मगर, सलिना थापा मगर, निलिमा थापा मगर लगायतले स्टेज तताउने भएका छन् ।

उक्त कुरा गत आइतबार १९ मे का दिन मगर भवन फार्नबोरोमा आयोजक मगर संघ युकेकी वरिष्ठ उपाध्यक्ष एवं कन्सर्टकी प्रमुख संयोजक सिता पुनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी हुन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रममा स्थानीय मेयर सु कार्टर, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी र वरिष्ठ गायक प्रेमध्वज प्रधान बिशेष अतिथि रहने छन् । नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००७ साल देखि आयोजना गर्दै आएको कन्सर्टमा बिशेष गरी गीत तथा नृत्य प्रस्तुत् हुनेछ ।
उक्त कार्यक्रममा ४ वटा खानाको स्टल सहित व्यापार तथा व्यवसायीहरुको स्टल समेत रहने छ भने मगर युवाहरुले मगर युवाहरुले संसारका ८००० मिटर भन्दा अग्ला १० वटा हिमाल आरोहणमा रहेका निर्मल पूर्जाको ‘प्राजेक्ट पोसिवल’ अभियान सहयोगार्थ स्टल राख्ने भएका छन् ।

करीब ५००० जना दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको कार्यक्रम दिउँसो १२ बजे बाट शुरु भई साँझ ६।३० समापन हुने आयोजकले जनाएको छ । दर्शकहरुको उपस्थितिलाई ध्यान दिदै वैकल्पिक कार पार्कको समेत व्यवस्था मिलाइने आयोजक मगर संघ युकेले जानकारी दिए ।त्यस्तै, सुरक्षालाई व्यवस्थित गर्नका लागि सुरक्षाको बिशेष प्रवन्ध मिलाइएको, बच्चाहरुको मनोरञ्जनका लागि फेश पेन्टिङ्ग, आईसक्रिम र निःशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था मिलाइएको आयोजकले जानकारी दिए । म्यूजिक फर यूनिटी नारा दिइएको उक्त कन्सर्टले नेपालीहरुबीच अझ गाढा सम्बन्ध कायम गर्न बिशेष भूमिका खेल्ने धेरैको विश्वास छ । उक्त कार्यक्रमबाट वचत भएको रकम परोपकारी कार्यमा सहयोग गरिने समेत संघका अध्यक्ष ले.रि. सुनिल रानाले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक सचिव तन्याङ्ग राना, सल्लाहकार ले।कर्णल याम राना, पूर्व अध्यक्ष दूत पुन, संरक्षक घन थापा, संयोजक सीता पुन र अध्यक्ष ले.रि. सुनिल रानाले पत्रकारहरुको जिज्ञासालाई मेटाउने प्रयास गरेका थिए । कार्यक्रमलाई व्यक्ति, उद्यगी, व्यापारी तथा संघसंस्थाहरुले प्याटुनियम, गोल्ड र सिल्भर स्पोन्सर गर्ने भएका छन् । मगर संघ युकेका अध्यक्ष ले.रि. सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव रुद्र थापाले संचालन गरेका थिए ।