१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालुवाटारको जग्गा विवादमा दोषी देखिए विष्णु पौडेललाई कारबाही पनि गर्नुपर्छः भीम रावल

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १५:२८

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले वालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरे ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा रावलले आफू गृहमन्त्री हुँदा उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे ।
उक्त जग्गा सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने, दोषीलाई कानुनी दायरमा नै ल्याउनुपर्ने बताए ।

जग्गा प्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनुपर्ने रावलको भनाई थियो । “वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निष्कर्ष पर्खौँ ।” नेता रावलले भने ।

फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गरे । स्थायी कमिटिको बैठक हरेक ३–३ महिनामा बस्नुपर्ने भए पनि त्यसो नगरिको रावलले बताए । बैठक नबस्दा सरकारले गरेका कामको समीक्षा पनि हुन नसकेको उनको भनाई थियो । सरकारले गरेका काम जनअपेक्षाअनुसार नभइरहेको बेला पार्टीभित्रको बहर र समीक्षा अत्यन्त जरुरी रहेको रावलले बताए ।

पार्टी एकता प्रक्रियाका क्रममा आएका असन्तुष्टीलाई आन्तरिक रुपमा समाधान गरिने पनि रावलले बताए । भातृ संगठन एकतामा गरिएको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टी आउनु स्वभाविक भएको तर समधान खोजिने रावलको भनाई थियो ।