१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार २१:५०

लण्डन । बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह ‘पानीको विद्रोह’ हालै प्रकाशित भएको छ । जनता प्रकाशन तथा प्रसारणले प्रकाशित गरेको उक्त कृतिमा ४९ वटा गद्य कविताहरु समावेश गरिएका छन् ।

नेपाली साहित्यका वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ ले भूमिका लेखेको सो कृतिमा बेलायतका लागी नेपाली राजदुत तथा साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले शुभकामना मन्तव्य लेखेका छन् ।

त्यस्तै, साहित्यकार डा. रुपक श्रेष्ठ, लक्ष्मी राई (लारा), दुर्गा प्रसाद पोख्रेल र विनोद अधिकारीले संक्षिप्त शुभकामना दिएका छन् । उक्त कृतिमा अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धानरत डा. कृष्ण प्रसाद अधिकारी, वातावरण साहित्यकार विजय हितान र समालोचक वासु शर्माले समेत समालोचनात्मक टिप्पणी लेखेका छन् ।

कवितामा खासगरी प्रवासमा रहंदा बस्दाका तितामिठा अनुभवहरु, देश प्रतिको माया, भूकम्पले गाउँशहर क्षतविक्षत पार्दाको वर्णन, आजभोलि डरलाग्दो रुपमा बढिरहेको महिला हिंसा र विविध सामाजिक परिवेशहरु संग्रहमा समावेश गरिएको छ । केसीका दर्जनौ गीत, कविता, गजल र मुक्तकहरु विभिन्न पत्रपत्रिका तथा पुस्तकहरुमा प्रकासित भैसकेका छन् । तर एकल कृतिको रुपमा प्रकासित भने यो नै पहिलो कृति हो ।

साहित्य सृजनालाइ नेपालमा निर्माणसंग जोड्नुपर्छ भन्ने मान्यता राख्ने साहित्यकार प्रतिमा केसीले वि सं २०७२ सालमा नेपालमा विनासकारी भूकम्प गएको बेला उत्प्रेरणा जगाउने खालको “हिम्मत” भन्ने म्युजिक भिडियो बजारमा ल्याएकी थिइन् । त्यसबाट जम्मा भएको सम्पूर्ण रकमबाट गोरखाको विकट गाउँ आरु आर्बांगमा दीपज्योती प्राथमिक बिद्यालयको दुइकोठे भवन निर्माण गर्न सहयोग गरेकी थिईन् ।

त्यसैगरी यस कवितासंग्रहबाट हुने सम्पूर्ण आन्दानीबाट पनि रुपन्देही जिल्लाको कुनै एक विद्यालयको आमा वा बुवा नभएका कम्तीमा दुईजना बेसहारा तथा जेहेन्दार विद्यार्थीको लागी माध्यमिक तहसम्म अध्ययनको लागी प्रतिमा कुमार फाउन्डेसन मार्फत सहयोग गर्ने उनको योजना छ ।

उक्त कृति आगामी २ जुनमा बेलायतका लागी नेपाली राजदुत तथा वरिस्ठ साहित्यकार डा. दुर्गा बहादुर सुबेदी (दुबसु) क्षेत्रीले वातावरण साहित्य गोष्ठीमा एक समारोहबीच बिमोचन गर्ने कार्यक्रम रहेको कवयित्री केसीले जानकारी दिउकी छन् । । कवितासंग्रहलाई नेपाल तथा बेलायतको रेडिंगमा समेत विमोचन गर्ने कार्यक्रम तय भइसकेको उनले बताएकी छन् ।