१५ चैत्र २०८०, बिहीबार
Follow Us

सशस्त्र प्रहरीको घुसखोरी आतंक

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार ०७:१६

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयमा राजस्व नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीले अहिले घुसखोरीको आतंक नै मच्चाएका छन् । घुस दिए जस्तोसुकै सामान पनि ल्याउन छुट भने घुस नदिए विल विजग सहितको सामानलाई पनि नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरेको देखिएको छ । कुनैपनि सामान ल्याउन पैसा बेरेर हातमा समाईदिए जस्तोसुकै सामान पनि चेकजाँच नगरि भारतबाट नेपाल ल्याउन सकिने अवस्था छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काको निर्देशनमा खटिएका सशस्त्र प्रहरी टोलीले विहान र बेलुका तस्करहरुसँग पैसा असुल्दै सामान नेपाल ल्याउन दिने क्रमलाई बढाएका छन् । ड्युटी भन्दा पनि कसरी बढि भन्दा बढि पैसा असुल्न सकिन्छ भन्नेतर्फ सशस्त्र प्रहरी अघि बढेको देखिन्छ ।

साइकलमा गर्ने तस्करी होस् अथवा पोके तस्करी होस् हातमा १ सय रुपैया बेरेर दिए कुनैपनि सामान ल्याउन सकिन्छ । केही बेरसम्म त्यस ठाउँमा गरिएको स्थलगत रिपोर्टिड्ड अनुसार सशस्त्र प्रहरीका जवानहरुले कुना कप्चामा तस्करहरुलाई ल्याए पैसा बुझ्ने गरिएको देखिएको छ । सामान सिमा नाकामै राख्ने र पैदल आएर भन्सार कार्यालयका पछाडि अर्थात त्यही कुना कप्चामा सशस्त्र प्रहरीलाई लगेर पैसा दिई सामान ल्याउने क्रम बढ्दो छ ।