१२ बैशाख २०८१, बुधबार
Follow Us

९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिटेन्स भित्रियो

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १८:०६

काठमाडौँ–वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको नौ महीनामा रु छ खर्ब ५३ अर्ब १९ करोड बराबरको विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह गत आवको तुलनामा चालू आवको नौ महीनामा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महीनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब ४६ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव तीन प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव तीन प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ दशमलव आठ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव छ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या तीन दशमलव एक प्रतिशतले घटेको थियो ।