७ बैशाख २०८१, शुक्रबार
Follow Us

१५ वर्ष अघि नै निधन भएका कर्मचारीको पनि सरुवा !

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १८:११

काठमाडौँ–कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्ष अघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गरे ।

उनले भने, “हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।” उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले प्राविधिक र स्वास्थ्य सेवामा रहेका कर्मचारीको अभिलेख सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट समयमा अद्यावधिक नभएका कारण केही स्थानबाट यस्ता कुरा आएको बताए ।