१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसदीय पत्रकारको सम्मेलन शुरु

sarusaru
८ जेष्ठ २०७६, बुधबार ०२:३७

बुटवल । संसदीय क्षेत्रमा काम गर्ने देशभरका पत्रकारको अन्तर प्रदेश सम्मेलन आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा शुरु भएको छ । सम्मेलनको प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णा थारूले उद्घाटन गरिन् ।

कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय गरिमा बढाउने कार्यमा पत्रकार लाग्नुपर्नेमा जोड दिँदै प्रदेशका पत्रकारसँग सहकार्य र समन्वयकारी ढङ्गले अघि बढ्ने बताइन् । उनले मुलुकको नयाँ राज्य संरचनासँगै स्थापित प्रदेश संरचना सबैका लागि नयाँ अनुभव भएकाले अहिलेसम्मको समय सिकाइ र अनुभव अदानप्रदानबाट धेरै उपलब्धि हासिल गर्न सकिएको जानकारी गराइन् ।

कार्यक्रममा संसदीय मामिला पत्रकार समाजका केन्द्रीय उपाध्यक्ष कृष्णा पौडेलले संसदीय क्षेत्रमा पत्रकारले औपचारिक कार्यक्रमसँगै जनताका अधिकारसँग प्रत्यक्ष जोडिएका विषयमा सङ्घीय संसद्, प्रदेशसभा र संसदीय समितिका काम कारवाहीका विषयमा गहिरो अध्ययन गरेर समाचार सङ्कलन गर्न सक्नुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले मुलुकमा सङ्घीयता लागू भएपछि नयाँ राज्य पुनःसंरचनाअनुसार भएको प्रदेश संरचनाका विषयलाई मोफसलका पत्रकारले नयाँ अवसरका रुपमा लिनुपर्ने बताए । अन्तर प्रदेश सम्मेलनमा वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालको संसदीय अभ्यासः सवल र दुर्लभ पक्ष, समस्या र चुनौती विषयमा सहजीकरण गरेका थिए।

यस्तै पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष तथा संसदीय मामिला पत्रकार समाजका सल्लाहाकार डिआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास र चुनौती विषयमा सहजीकरण गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाका प्रदेश नं ५ का प्रतिनिधि डिला पन्तले संसदीय क्षेत्रमा समाचार लेख्नेले अब स्वमूल्याङ्कन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अन्तर प्रदेश सम्मेलनले संसदीय क्षेत्रमा समाचारका विषयमा अनुभव आदानप्रदान र आगामी दिनमा थप सिकाइको अवसरका रुपमा रहने अपेक्षा व्यक्त गरे । बुधबारसम्म चल्ने सम्मेलनमा सातै प्रदेश र सङ्घीय संसद्का संसदीय पत्रकारको सहभागिता रहेको छ ।
डिसी नेपाल