१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिहेभन्दा आठ दिन पहिले दुलाहद्धारा आत्महत्या

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:४८

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

उनको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो । यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने आशङ्का गर्दै प्रहरीले मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।