१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु, घिमिरे भए पहिलो शिकार

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:५४

भोजपुर । हिजो टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ स्थित मैयुङ्ग क्षेत्रको धोत्रेमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ ।
गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि रिफर गरिएका उनलाई हिजै धरान घोपा क्याम्प लगिएको थियो ।
हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसक्ने भएपछि उनलाई समयमा उपचारमा पु¥याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । बुधबार विहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको मृत्यु भएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ ।
केहिदिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलीले सो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
विप्लव प्रतिबन्धमा परेपछि यो पहिलो मृत्युको घटना हो ।