१५ चैत्र २०८०, बिहीबार
Follow Us

शिक्षकहरुको लगानीमा विद्यालय सुधारको थलानी

sarusaru
८ जेष्ठ २०७६, बुधबार १२:५१

बागलुङ – पूर्व बिद्यार्थीहरुले लगानी गरेर धेरै बिद्यालय बनाउने काम भैरहेकै बेला बागलुङको काठेखोलामा भने शिक्षकहरुले लगानी गरेर बिद्यालय सुधार्न थालेका छन् । शिक्षाको गुणस्तर बढाउन भन्दै पूर्व शिक्षकले सहयोगको अगुवाई गरेका हुन् । काठेखोला गाउँपालिका ८ को लेखानी माबिमा पूर्व शिक्षकहरुले सहयोग जुटाएर अतिरिक्त कक्षा र कम्प्युटर पढाईमा लगानी गरेको प्रअ खिमानन्द कंडेलले बताए । लेखानी माबिका पूर्व शिक्षक लालकुमार प्रधानले १० लाख २९ हजार रुपैयाँ सहयोग गरेपछि यो क्रम बढेको हो । सहयोग अभियानबाट झण्डै एक करोड रुपैयाँ सहयोग जुटेको प्रअ खिमानन्द कंडेलले बताए । त्यो मध्ये झण्डै ५० लाख रुपैयाँ भवनको तला थपिएको छभने चन्दाकै भरमा बिद्यालयको प्रयोगशाला र पुस्तकालय पनि बनाइएको छ ।

प्रधानले सहयोग गरेपछि प्रदेशसभा सदस्य मणीभद्र शर्माले बिद्यालयमा खेल मैदान, बिद्यालय पुग्ने सडक र अन्य पूर्वाधारमा सहयोग गरेका छन् । पूर्व शिक्षक रहेका कंडेलले ५ लाख बढी नगद खर्चेर उनले ती पूर्वाधार बनाएका हुन् । पूर्व शिक्षक लोकनाथ कंडेल, ज्ञामप्रसाद कंडेल र अष्ट्रेलियामा बसेका पूर्वबिद्यार्थीहरुले पनि चन्दा सहयोग गरेपछि रकम संकलन भएको छ ।
बिद्यालयले कम्प्युटर कक्षा संचालन, निजी श्रोतका शिक्षकद्वारा अतिरिक्त कक्षा संचालन समेत गरिएको छ । बिद्यालयमा स्थापित कोषबाट पूर्वाधार सहयोग सँगै गुणस्तमा ध्यान दिएपछि सिकाई उपलब्धी बढेको उनले बताए । ‘दुइ बर्ष अघि ५० प्रतिशत रहेको सिकाई उपलब्धी बढाएर ६० मा पुगेको छ’ कंडेलले भने, ‘बालबालिकाहरु अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सबै प्रयास गरिएको छ ।’ आगामी बर्ष ६५ प्रतिशतमा लैजाने योजना सहितको बिद्यालय सुधार योजना बनेको उनले सुनाए ।

बिद्यालयमा उत्पादन र सिपमूलक कार्यक्रम थप गर्ने योजना समेत बनाइएको अध्यक्ष सूर्यप्रसाद कंडेलले बताए । यहाँ कृषि उत्पादन र झोला वा कागजका काम गर्न सक्नेगरी सिपमूलक शिक्षा दिन अतिरिक्त कोष र प्रशिक्षकको व्यवस्था गर्न पहल थालिएको हो । गाउँपालिका तहमा यो बिषयमा छलफल भएको समेत उनले बताए । हरेक वडाका बिद्यालयलाई फरक क्षमता र गुणस्तरका बनाउन पहल भएको वडा अध्यक्ष चित्रकला श्रीषले बताईन् । बिद्यालयले बिपद तयारी योजना समेत बनाएको छ । सबैले देख्ने गरी बाह्रै महिनाको पूर्व तयारी योजना राखेपछि बालबालिका, अभिभावक र शिक्षकमा चासो बढेको श्रीषले बताईन् । पूर्वतयारीमा भूकम्प, बाढीपहिरो, हावाहुरी, र आन्तरिक जोखिम न्युनिकरणका कार्यक्रम समावेश छन् । बिद्यालय भित्रको जोखिम न्युनिकणका लागि तारबार समेत लगाइएको हो ।

हरेक बर्ष सुधारको योजना बारे समीक्षा गर्ने काम पनि उनीहरुले थालेका छन् । समीक्षामा अघिल्लो बर्षको योजना र प्रगतीको सूचक बिष्लेषण गरेपछि सुधार योजना परिमार्जन गरिएको शिक्षक नरबहादुर काउचाले बताए । ‘हरेक बर्ष आइपर्ने समस्या सम्बोधन गर्ने र गुणस्तरको मापन गर्दा लक्षमा पुग्न सकिन्छ’ काउचाले भने, ‘ग्रामीण र बिपन्न अभिभावकले सामुदायिकमा पढाएरै सन्तुष्ट पाउने काम गर्नुपर्छ भन्नेमा प्रतिवद्ध छौं ।’ अधिकांस शिक्षक पूर्णकालिन बनाएर पढाई बिकासमा सुधार गरिएको उनले बताए । गणित, बिज्ञान र अंग्रेजी सहित नेपाली भाषाको सुधारमा बिद्यालयले बिशेष चासो बढाएको समेत कंडेलले बताए ।
जनमञ्च