१२ बैशाख २०८१, बुधबार
Follow Us

क्षेत्री समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम ८ जुनमा

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १३:५३

लण्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेला हुने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा आउदो जुन ८ तारिखका दिन हुन लागेको हो ।
कार्यक्रमलाई सफल पार्न उपाध्यक्ष प्रतिमा केसीले संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा यस वर्ष शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्ने समाजका सदस्यहरु तथा उनीहरुका छोराछोरीहरुलाई विशेष सम्मान गरिने समाजले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माणको लागी हालै सम्पन्न कविता कन्सर्ट तथा च्यारिटी कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्ने सर्जकहरु रमेश कायस्थ, नृपेश उप्रेती, फडिन्द्र भट्टराई र रेखा खरेललाइ सम्मान गरिने कुरा च्यारिटी कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार राम शरण सिम्खडाले बताए ।

समाजका तर्फबाट गरिएका विभिन्न कार्यहरुलाई निकट भविष्यमा पनि उत्तिकै महत्वका साथ् अगाडी बढाइने समाजका अध्यक्ष राजन कुमार क्षेत्रीले बताए ।

बिगतका वर्षहरुमा बाढी पीडितहरुलाई आर्थिक सहयोग, गुल्मीमा आगलागी पीडितहरुलाई राहत सहयोग, हृदयघात भै मृत्यु भएका परिवारहरुलाई सहयोग, अभिनेता दीपक क्षेत्री र गायक ओम बिक्रम बिष्टलाइ आर्थिक सहयोग र शान्ती अधिकारीलाई मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग जस्ता परोपकारी काम समाजले गर्दै आएको छ ।

समाजले गत वर्ष समाजको लागी आपतकालीन राहतकोष र यस वर्ष सिन्धुपाल्चोकमा पुस्तकालय निर्माणको लागी भब्य च्यारिटी डिनर समेत सम्पन्न गरिसकेको छ ।

१२० जना भन्दा बढी आजिबन सदस्य रहेका यस समाजमा यस वर्ष मात्र सदस्यता लिएका नयाँ सदस्यहरुलाई सम्मान सहित सदस्यता प्रदान गरिने कुरा कार्यबाहक कोषाध्यक्ष महेन्द्र केसीले बताए ।

त्यसै गरी युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले बाल तथा युवाहरुको छोटो मन्तब्य, सांस्कृतिक कार्यक्रम तथा कविता जस्ता कार्यक्रमहरु समाबेश गरिनेछ भने सहभागीहरुलाई पूर्ण मनोरंजन दिनको लागी समाजका तर्फबाट स्थानीय कलाकार र नेपालबाट बेलायत आएका चर्चित लोक तथा दोहोरी कलाकारहरुले समेत बिशेष प्रस्तुति दिने कुरा समाजका महासचिब कुमार केसीले बताए ।

कार्यक्रमको लागि हल बुकिंग, अथिति तथा कलाकार निमन्त्रणा जस्ता कार्यहरु पूरा भैसकेका छन् भने सौजन्य सहयोग र टिकट बिक्रि वितरण लगायतका कामहरु भैरहेको बस्नेतले जनाए ।

कार्यक्रमलाई सफल पार्नका लागि समाजका तर्फबाट समस्त बेलायतवासी क्षेत्री बन्धुहरुलाई निमन्त्रणा गरिएको छ ।

क्षेत्री समाज यूके बेलायतमा निकै व्यवस्थित र सक्रिय संगठनको रुपमा परिचित संस्था हो । यसले गर्ने विविध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु मध्य हरेक वर्ष गरिने वार्षिक भेटघाट कार्यक्रम एक प्रमुख कार्यक्रम हो । उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।