१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतमा मोदी आउँदा मसाल बेखुस, मोहन बिक्रमले औंल्याए यी खतरा !

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार १२:२६

मसालले भारतको लोकसभा चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

वक्तव्य

भारतको आम चुनावमा भाजपाको विजयले नेपालका लागि नकारात्मक रूपले गम्भीर महत्व राख्दछ । यो थाहा भएकै कुरा हो कि मोदी सरकारले पहिलेदेखि नै नाङ्गो प्रकारले नेपालप्रति आफ्नो विस्तारवादी नीति लागू गर्ने प्रयत्न गर्दै आएको छ । त्यस सिलसिलामा नेपालको संविधानको निर्माण वा जारी गर्ने कार्यलाई रोक्ने प्रयत्न, संविधानमा संशोधनका लागि दवाव, नेपालका विरुद्ध नाकाबन्दी, तराईमा विखण्डनका लागि मधेशवादीहरूलाई प्रोत्साहन गर्ने नीति आदि उल्लेखनीय छन् । आफ्नो स्वार्थको पक्षमा दलाली नगरेकाले ओली सरकारलाई अपदस्थ गर्ने कार्य आदि उल्लेखनीय छन् । अहिले भारतमा भएको मोदीको विजयले नेपाल प्रतिका भारतीय विस्तारवादी नीतिले अरू कडा र तीव्र रूप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
आम निर्वाचनमा भारी बहुमतले निर्वाचित भएपछि मोदी सरकारले नेपाल प्रति खास गरेर निम्नलिखित नीतिहरू अपनाउने प्रवल सम्भावना छ ः
१. नेपाललाई हिन्दू राष्ट्रबनाउन र राजतन्त्रको पुनस्र्थापनाका लागि दवाव दिने ।
२. भारतीय विस्तारवादी आवश्यकतानुसार संविधानमा संशोधनका लागि दवाव दिने ।
३. पहाडी भूभागबाट अलग गरेर पूरै तराईमा बेग्लै प्रदेशहरूको निर्माण गर्ने ।
४. चीनसितको सम्बन्धको विस्तारमा बाधा हाल्ने वा चीनसित भएका सन्धि सम्झौताहरूलाई निष्क्रिय पार्न दवाव दिने ।
५. ओली सरकारमाथि आफ्नो स्वार्थ अनुरूप काम गर्नका लागि दवाव बढाएर लैजाने ।
यसरी प्रष्ट छ कि भारतमा भाजपाको विजयबाट नेपालको गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमाथि गम्भीर खतरा पैदा हुने सम्भावना छ । ओली सरकारले पनि आफ्नो अस्तित्वको रक्षाका लागि झन्‌पछि झन् भारतपरस्त नीति अपनाउँदै जाने सम्भावना तिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । तर, यो स्पष्ट छ कि भारतीय शासक वर्गले ओली सरकारमाथि पूरा विश्वास गर्दैनन् । त्यसकारण प्रारम्भमा वर्तमान सरकारलाई आफ्नो स्वार्थहरूको पक्षमा बढीभन्दा बढी उपयोग गर्ने नीति अपनाए पनि अन्तमा उनीहरूको प्रयत्न वर्तमान सरकारलाई अपदस्थ गराएर त्यसको ठाउँमा आफ्नो पूरै दलाली गर्ने सरकारको स्थापना गर्नेतिर नै हुनेछ । त्यसकारण नेकपा र त्यसको सरकारले पनि यो स्थितिमाथि गम्भीरतापूर्वक विचार गरेर गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा गर्नका लागि दृढतापूर्वक काम गर्नु नै देश र जनता तथा उनीहरूको पनि हितमा हुनेछ । तर, उनीहरूको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्रका कारणले उनीहरूले त्यसप्रकारको भूमिका खेल्न सक्नेछन् भन्ने कुरामा पूरा विश्वास गर्न सकिंदैन । त्यो अवस्थामा जनताको भूमिका नै निर्णयात्मक महत्वको कुरा हुनेछ । गत दशकहरूको अनुभवले बताउँछ, बेग्लाबेग्लै कालमा विभिन्न राजनीतिक पार्टी वा सरकारहरूले जति सम्झौतापरस्त नीति अपनाएपनि जनताका राष्ट्रिय जागरणका कारणले विदेशी शक्तिहरू पराजित हुँदै गएका छन् ।
भारतमा मोदीको विजयपछि नेपालका सबै राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी र मधेशवादी आदि सबै अत्यन्त उत्साहित भएको पाइन्छ । त्यस सन्दर्भमा मोदीको विजयमा उत्सब मनाउन २ नंं प्रदेशको वीरगञ्जमा र्‍याली भएको घटना पनि उल्लेखनीय छ । त्यसप्रकारका सबै तत्वहरूलाई उपयोग गरेर भारतीय विस्तारवादले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता सहित नेपालको सम्पूर्ण राष्ट्रिय हितमा कुठाराघात गर्ने प्रयत्न गर्नेछ । त्यो अवस्थामा नेपालका सबै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र राष्ट्रिय हितका पक्षधर शक्तिहरूका बीचको एकता आजको राष्ट्रिय आवश्यकता भएको छ ।
भारतीय विस्तारवादले करिब ७ दशकदेखि नै नेपालमा आफ्नो प्रभूत्व कायम गर्न वा नेपाललाई भारतमा मिलाउनका लागि योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । भारतका शासक वर्गहरू बारम्बार बदलिने गरे पनि उनीहरूको नेपाल प्रतिको त्यो नीति समान रहने गरेको छ । खाली भारतका प्रतिक्रियावादी शक्तिहरूमात्र होइन, भारतका दक्षिणपन्थी संशोधनवादी कम्युनिष्टहरूले पनि भारतको नेपाल प्रतिको त्यसप्रकारको विस्तारवादी नीतिलाई समर्थन गर्दै आएका छन् । तर, त्यसको उज्यालो पक्ष के हो भने नेपाललाई भारतीय सङ्घमा गाभ्ने उनीहरूको प्रयत्न गत सात दशकसम्म नै पूरा हुन सकेको छैन । खास गरेर नेपाली जनताको उच्च प्रकारको देशभक्तिपूर्ण भावना, अन्तर्राष्ट्रिय परिस्थिति र उत्तरमा चीनको उपस्थितिका कारणले भारतको त्यसप्रकारका प्रयत्न असफल हुँदै आएका छ र, हामीलाई विश्वास छ, भविष्यमा पनि उनीहरूको त्यसप्रकारको विस्तारवादी नीतिलाई नेपालका देशभक्त जनताले असफल पार्दै लैजाने छन् । त्यसकारण तात्कालीक रूपमा मोदीको विजयले नेपालका लागि खतराको केही आभाष दिए पनि अन्तत्वगत्वा नेपाली जनताको नै विजय हुनेछ ।

मिति : २०७६ जेष्ठ १० गते

मोहनविक्रम सिंह
महामन्त्री