१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोदीसहित सम्पूर्ण मन्त्रीहरुले दिए आफ्नो पदबाट राजीनामा

sarusaru
११ जेष्ठ २०७६, शनिबार ०२:२०

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् ।

मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ । यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाकेका थिए ।

बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ ।

हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ । र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडिएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको संघीय सरकारको नेतृत्व गर्ने पक्कापक्की छ ।
डिसी नेपाल