१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्रसर सञ्चालक र स्थानीयबीच झडप

sarusaru
११ जेष्ठ २०७६, शनिबार ०२:४४

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरित सञ्चालन भइरहेको क्रसर उद्योग तत्काल बन्द गर्न माग राखेर ५६ दिनदेखि आन्दोलनरत स्थानीय र क्रसर उद्योगीबीच झडप भएको छ। विरोध र अवरोधकाबीच पञ्चेश्वर क्रसर उद्योग सञ्चालन भएपछि स्थानीय बासिन्दाले कुनै पनि हालतमा सञ्चालन हुन नदिने भन्दै उद्योग भित्रै छिरेर अवरोध गर्दा झडप भएको प्रहरीले जनाएको छ। झडपमा घाइते क्रसर उद्योगमा कार्यरत उर्लाबारी–७ का दिनेश ढकालको गोदावरी हस्पिटलमा उपचार भइरहेको छ।

स्थानीयको आन्दोलनका कारण बन्द क्रसर शुक्रबार बिहानदेखि सञ्चालन गर्न खोज्दा झडप भएको हो। स्थानीयका अनुसार एउटै वडामा मापदण्ड विपरित २ वटा क्रसर सञ्चालमा रहेको र अन्य ३ वटा सञ्चालनको अन्तिम तयारीमा छन्। उद्योगका कारण मानव बस्तीमा प्रदूषण बढेको र धुलोधुवाँले दैनिकी कष्टकर बनेको भन्दै हटाउन माग राखेर चैत १५ देखि स्थानीय रिले अनसनमा छन्।

झडप असामान्य बन्दै गएपछि विराटनगरमा प्राकृतिक स्रोत अनुगमन समितिको आपत्कालिन बैठक बसेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बैठकमा मापदण्ड नपुगेका नयाँ क्रसर उद्योग सञ्चालन हुन नदिने निर्णय भएको बताए। यसअघि स्थापना भइसकेका उद्योगलाई स्थानान्तरण गरी दुई महिनाभित्र मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न दिन स्थानीय तहलाई आग्रह गरिएको उनले जानकारी दिए।

क्रसर उद्योग हटाउ समितिका संयोजक सम्बरबहादुर राईले एउटै वडामा धेरै क्रसर हुँदा बस्तीमा असर पुगेकाले स्थानीय बासिन्दा आन्दोलन गर्न बाध्य भएको बताए। स्थानीयले लामो समयदेखि विरोध गरेकाले जिल्ला समन्वय समिति मोरङले अनुगमन समिति गठन गरी क्रसर उद्योगको स्थलगत अनुगमन गरे पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।

उर्लाबारी–१ मा गोविन्द भट्टराई समूहको पूर्वेली क्रसर उद्योग र प्रकाश खड्गी समूहको पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा छ। सोही स्थानमा उर्लाबारी–६ का जनप्रतिनिधि सचिन शाक्यको माँ पाथीभरा क्रसर उद्योग, मिक्लाजुङ गाउँपालिकाका बबीकुमार राईको देवीस्थान मिनरल्स क्रसर उद्योग र पंकज शाक्यको सिद्धार्थ एग्रोगेट क्रसर उद्योग सञ्चालनको तयारी छ।

क्रसर उद्योग सञ्चालकले भाडाका मान्छे ल्याएर आतंकित पारेको भनदै स्थानीयले सुरक्षा व्यवस्था मिलाउन माग पनि गरेका छन्। स्थानीय चन्द्रप्रसाद दाहालले स्थानीयलाई त्रास सिर्जना गरेर मापपदण्ड विपरित क्रसर सञ्चालन गर्ने काम भइरहेको बताए। उनका अनुसार क्रसरको दादागिरीका कारण सिंगो बस्ती र विद्यालय जोखिममा परेका छन्। जनप्रतिनिधिहरू नै क्रसर उद्योगका सञ्चालकको मतियार बनिदिंदा समस्या भएको गुनासो स्थानीयको छ।

स्थानीय इन्दिरा दाहालले क्रसर आतंकले गाउँमै बस्न सक्ने अवस्था नभएको बताइन। उनका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुन्डागर्दीको पृष्ठभूमि रहेकाहरूले मापदण्ड मिचेर लामो समयदेखि बस्तीमै क्रसर उद्योग सञ्चालन गरिरहेका छन्। क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भएर आन्दोलन गर्न बाध्य भएको स्थानीय जगन्नाथ दाहालले बताए। उनले मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेको भन्दै तत्काल हटाउनु पर्ने माग स्थानीयको रहेको जानकारी दिए।

क्रसरका कारण आजित भएपछि उर्लाबारी–१ को वडा कार्यालय, नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश संसद, संघीय संसद, १ नम्बर प्रदेश सरकार, संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ।

पञ्चेश्वर क्रसरका सञ्चालक प्रकाश खड्गीले स्थानीयको आन्दोलनका कारण २ महिनादेखि क्रसर बन्द हुँदा ठूलो नोक्सानी भइरहेको बताए। सरकारबाट स्वीकृति प्राप्त गरी उद्योग सञ्चालन गरिरहँदा केही व्यक्तिहरुले अवरोध पुर्‍याउने काम गरेको उनको दाबी छ।

सार्वजनिक स्थल, खोला र मानव बस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यसलाई मिचेर क्रसर सञ्चालन गरिएको छ। राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, हाइ टेन्सन लाइनबाट १ सय मिटर पर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष तथा घनाबस्तीबाट दुई किलोमिटर दूरीमा क्रसर उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ।

वडा अध्यक्ष मचिन्द्र कार्कीले बस्तीमै टँसाएर दुई क्रसर उद्योग सञ्चालनमा रहेको र अन्य तीनवटा सञ्चालको तयारी गरिएपछि ठूलै समस्या निम्तिएको बताए। उनले क्रसर उद्योग र आन्दोलनरत स्थानीय बासिन्दाबीच कुनै सहमति नभएसम्म क्रसर बन्द गर्न जिल्ला समन्वय समितिले निर्देशन दिइसकेको बताए। ‘यहाँ मापदण्ड विपरित नै क्रसर सञ्चालन भइरहेका कारण रोक्न धेरै प्रयास गरिरहे पनि सकिएको छैन,’ उनले भने, ‘एउटै वडामा २ सय मिटरको पेरीफेरीमा मापदण्ड विपरितका क्रसर हुँदा मावन बस्तीमा ठूलै असर गरिरहेको छ।’
अन्नपूर्ण पोष्ट