१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका लागि नेपाली राजदूत एनआरएन र भुपू गोर्खासँग असन्तुष्ट !

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७६, शनिबार १७:२७

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल नेपाल सरकारले गत चैतमा गरेको लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको सहभागीतालाई लिएर असन्तुष्टि जनाएका छन् ।
डा. सुवेदीले शनिवार अल्डरशटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै लगानी सम्मेलनमा बेलायतबाट जम्मा ९ जनाले भाग लिएकोमा असन्तुष्टि जनाएका हुन् ।

‘नेपाल सरकारले भर्खरै लगानी सम्मेलन गरेकोमा गौरव पनि गरेँ, तर अलिकति कस्तो कस्तो नरमाइलो लागेको छ ’, उनले भने, ‘हामी ठूलाठूला कुरा गछौं तर लगानी सम्मेलनमा बेलायतबाट जम्मा ९ जनाले शिखर सम्मेलनमा सहभागिता जनाउँदा वेलायतको लागि नेपाली राजदुतलाई कस्तो अनुभूति भयो होला ?’

लगानी सम्मेलनअघि अर्थमन्त्रीलाई यहाँ बोलाएर लगानीको आह्वानै गरेपनि लगानीकर्ताहरु नेपाल नगएको संकेत गर्दै उनले भने, ‘त्यसैले कुराहरु सानोबाट सुरु गर्नुहोस् । एकै पटक ठूलोबाट कुरा गर्ने होइन् । सगरमाथाको चित्र बनाउनेहरुले टुप्पोबाट चित्र बनाउँछ तर सगरमाथा चढ्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन हिलारी, लाम्पा शेर्पाहरुले तलैबाट यात्रा शुरु गरे । ठूलो कुरा टुप्पोबाट गर्ने होइन् तलैबाट सुरु गर्नुहोस् । पुछार, बेसक्याम्पबाट चढ्नु होस् सगरमाथा चढ्न तलैबाट सुरु गर्नुपर्छ । लगानीको कुरा गर्दा पनि मुठ्ठी खोल्नुहोस्।’

उनले भुपू गोर्खाहरुको आन्दोलनप्रति समेत असन्तुष्टि जनाउँदै वेलायत सरकारविरुद्धको गतिविधि बन्द गर्न आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापा, एनआरएन नेता दीपक खड्का, एनआरएन उपाध्यक्ष कुल आचार्य लगायतले आआफ्ना भनाई राखेका थिए ।