१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थाइल्याण्डमा बसेर नेपालीलाई करोडौं ठग्ने गुरुङ बैंककमा पक्राउ

sarusaru
१२ जेष्ठ २०७६, आईतवार ०१:५३

काठमाडौं । विभिन्न मुलुकमा रोजगारी लागि पठाइदिने भन्दै करोडौं ठग्ने परशुराम गुरुंग र्थाल्याण्डको बैंककमा पक्राउ परेका छन् । गएको चैतमा पक्राउ परेका उनलाई शुक्रबार नेपाल ल्याइएको जानकारी शनिबार प्रहरीले दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुंगबारे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रहरीका अनुसार गुरुंगले थाईल्याण्डबाटै अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई करोडौँ ठगी गरेको उजुरी परेको छ ।

गुरुङ ठगीमा संलग्न रहेको भन्ने उजुरीका आधारमा २०७१ देखि नै प्रहरीको खोजी सूचीमा थिए।

नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले २०७२ असार २९ मा गुरुङविरुद्ध पक्राउ नोटिस जारी गरेको थियो।

बैंककस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सक्रियतामा उनलाई थाई प्रहरीले पक्राउ गरेको हो । भोजपुरका ३८ वर्षीय गुरुंग वैदेशिक रोजगारीमा ठगी गर्ने एक गिरोहका नाइके भएको प्रहरीको दावी छ । उनले बैंककबाटै फेसबुकमा कुरा गरेर धेरैलाई ठगेको प्रहरीले जाएको छ ।

प्रहरीका अनुसार उनले पहिचान परिवर्तनसमेत गरेर ठगी धन्दा चलाएका थिए । उनले कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रताप लगायतका नामहरू बताएर युवाहरूलाई फसाउँदै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी राजकुमार सिलवालका अनुसार गुरुङविरुद्ध ५२ ओटा मानव ओसारपसारसम्बन्धी उजुरी परेका छन्।

गुरुङविरुद्ध परेका ५२ ओटा उजुरीमा ५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितहरुले विगो बराबरको रकम माग गरेका छन्।

डिसी नेपाल