१५ चैत्र २०८०, बिहीबार
Follow Us

साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०३:२२

सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने ।

तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ । व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन् । वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि पहाडी क्षेत्रका यात्रुलाई समस्या हुन सक्ने भएकाले उपत्यकाभित्र आयात हुने गाडीलाई मात्र युरो ४ मापदण्ड लागू गरिने बताएका छन् । तर, सरोकारवाला निकायले भने अलगअलग मापदण्डका आधारमा आयात गर्दा नियमन गर्न कठिन हुने बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।