१५ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनमा नेवारी भोज (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:४२

लण्डन । नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वयः’ शनिबार लण्डनमा पनि सम्पन्न भएको छ ।

पासा पुचः साउथ ईस्ट लण्डनले आयोजना गरेको उक्त परम्परागत भोजमा २ सय ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

त्यसअवसरमा बेलायतबासी नेवार समुदाय मात्र नभएर गैरनेवार नेपाली र विदेशीहरु समेत उपस्थित थिए । भोजमा करिब ४ दर्जन नेवारी परिकारहरु समावेश थिए । मौलिक शैलीमा लप्टेमा पस्किएका परिकाररुको स्वाद लिन सहभागीहरु पलेंटी कसेरै बसेका थिए । भोजमा परम्परागत शैलीमा घरमै तयार पारिएको रक्सी र जुजु धौ लगायत पनि थिए ।

भोजमा परिकारहरु तयार पार्न संस्थाका २१ जना महिला तथा १० जना पुरुषले स्वयमसेवकको रुपमा सहयोग गरेका थिए । भोजमा अहिले बेलायतको भ्रमणमा रहेका गायक प्रेमध्वज प्रधान विशेष अतथिको रुपमा सहभागी थिए । उनले नेवारी भाषाको आफ्नो बहुचर्चित गीत राजामती समेत गाएर सुनाएका थिए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी थिए । उनले बेलायतमा नेपाली संस्कृति र मौलिकताको संरक्षण गर्न भोजले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

भोजको लागि ज्येष्ठता र वरिष्ठताका आधारमा गायक प्रेमध्वज प्रधान , राजदूत डा दुर्गाबहादुर सुवेदी, रामप्रसाद प्रजापति, रजनी प्रधान र विमल कक्षपतिलाई नाइके चयन गरिएको थियो ।

त्यसअवसरमा पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह तथा पूर्व अध्यक्षहरु कुमार श्रेष्ठ र कपिल श्रेष्ठ , पासा पुच साउथ ईस्ट लण्डनका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।

आयोजक पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले भोजमा सहभागी तथा तयारीमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरेका छन् । बेलायतमै जन्मिएका , यतै हुर्किएका नयाँ पुस्तादेखि गैरनेवार नेपाली समुदाय र विदेशीहरुमाझ पनि नेवारी खाना र संस्कृतिको प्रबद्र्धन गराउनु भोजको लक्ष्य रहेको उनले जनाए ।


तस्विरहरुः रुपक प्रजापति