१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लोकमानलाई कानुनी राज्यको पक्षमा उभिन सांसदहरुको सुझाव

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १४:२९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत महाभियोग प्रस्तावमाथि व्यवस्थापिका–संसद्मा छलफल सुरु भएको छ । मंगलबार दिउँसो तीन बजेपछि बसेको संसद बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले महाअभियोग प्रस्ताव पेश र प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गरेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक संसदमा महाअभियोग प्रस्ताबबारे छलफल सुरु भएको हो । प्रस्ताव पेश र समर्थन गर्दै सांसदद्वय शाही र ढकालले महाअभियोग लगाउनुपर्ने कारणबारे स्पष्ट पार्दै पारित गराउन आग्रह गरेका थिए ।
छलफलमा भाग लिएका अधिकांश सांसदले प्रस्ताव पारित गरी विधिको शासन र कानूनी राज्यको पक्षमा उभिन राजनीतिक नेतृत्व र सांसदलाई आग्रह गरेका थिए । स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापाले कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताले गरेको गम्भीर गल्ती सच्याउने बेला आएको भन्दै पुनः गल्ती नगर्न आग्रह गरे । एमालेका रवीन्द्र अधिकारीले महाअभियोग अनियमितता र खराब आचरण रोक्न आएको भन्दै त्यसलाई गठबन्धन र सत्तासमिकरणको विषय बनाउन नहुनेमा जोड दिए ।
नेकपा मालेका सीपी मैनालीले आउनैपर्ने प्रस्ताव आएको र त्यसको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक अभिने जानकारी गराए । मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका जीतेन्द्र देवले प्रस्ताव ल्याउँदा आफ्नो पार्टीसँग छलफल नगरिएपनि खुसी नै लागेको बताए । बैठकमा नेमकिपाकी अनुराधा थापामगर, नेपाली कांग्रेसका बद्री पाण्डे र रामहरि खतिवडा, एमालेका यज्ञराज सुनुवार, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद प्रस्तावको पक्षमा उभिँदा राप्रपा नेपालकी कुन्तीकुमारी शाहीले आफ्नो पार्टीसँग छलफल नै नगरी प्रस्ताव ल्याइएको भन्दै गुनासो गरिन् । यद्यपी प्रस्तावबारे संसदीय दलले निर्णय गर्ने उनको भनाइ थियो । संसदको अर्को बैठक तिहार र छठपछि बस्ने गरी कात्तिक २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।