११ बैशाख २०८१, मंगलवार
Follow Us

१७ औं गोर्खा कप एफसी तोङ्बाको हातमा

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १०:०३


लण्डन । तमुधिं युकेको आयोजनामा सम्पन्न १७ औं गोर्खा कपको उपाधि एफसी तोङबाले जितेको छ ।

शनिबार अल्डरसटस्थित क्वीन्स एभेन्युको खेलमैदानमा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टीमबीच १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा एफसी तोङबाले रेडिङ युनिटीलाई ४–२ ले हराएर उक्त कप हात पार्न सफल भएको हो ।

प्रतियोगितामा रेडिङ युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै, भेट्रानतर्फको खेलमा पूर्व विजेता इलाम एफसीलाई हराउँदै केन्टले एफसीले उपाधि हात पार्न सफल भयो ।

निर्धारित समयमा दुवै टीमबाट कुनै गोल हुनसकेपछि पेनाल्टी सुटआउटमा केन्ट एफसी विजय हात पारेको हो ।
कुल १० टीमले भेट्रानतर्फ भाग लिएका थिए । जसमा भास्कर राई उत्कृष्ट खेलाडी घोषित भए ।

कुल ३२ टीमले भाग लिएको ९ ए साइडको सो प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।

प्रतियोगितामा ननभेट्रानतर्फ विजेता टोलीले २५०० पाउण्ड नगद पुरस्कार, शिल्ड तथा ट्रफी र प्रमाणपत्र पाए भने उपविजेता टीमले १५०० पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र पाए ।

यस्तै, भेट्रानतर्फ विजेताले १२०० पाउण्ड नगद,शिल्ड, ट्रफी र प्रमाणपत्र पाए भने उपविजेताले ८०० पाउण्ड नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाए ।

विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि रसमुर बोरो काउन्सिलकी मेयर सु कार्टर, विशेष अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख शरदराज आरन, तमुधिँका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, अध्यक्ष नन्दजंग गुरुङ, फुटबल एसोसिएसन इंग्ल्याण्डका लरेन्स जोन्स, पुरस्कारका प्रायोजकहरु आइडिया फर नेपालका अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठ, बिसन सोलिसिटर्सका रविन अली, मेकवोर्थ अकाउण्टेन्टका राकेश गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, गोरखा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा रेष्टुरेन्टका यमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर सु कार्टर, नेपाली दुताबासका शरदराज आरन, एफए इंग्ल्याण्डका लरेन्स जोन्स, तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, गोरखा कपका सिइओ पीताम्बर गुरुङले गोरखा कपका बारेमा बोलेका थिए ।

खेल हेर्न बेलायतस्थित बिभिन्न शहरबाट नेपालीहरुको अल्डरशट पुगेका थिए । खेल मैदानमा गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापा, चिरनजिवी ढकाल, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए नेता दीपक खड्का लगायत बेलायतस्थित नेपाली संघसँस्थाहरुको बाक्लो उपस्थिती थियो ।