७ बैशाख २०८१, शुक्रबार
Follow Us

घलेले देखाएको भिजन २०२० को मार्गचित्रले नै संस्थागत विकास सम्भव : एनआरएनए उपाध्यक्ष पन्त

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १०:२८

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले संस्थामा समयसापेक्ष परिमार्जनको आवश्यकता औँल्याउनुभएको छ । युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले भन्नुभयो, संस्था स्थापना भएको १५ वर्ष पूरा भइसकेको परिपेक्ष्यमा समयसापेक्ष परिमार्जनको आवश्यकता समेत थपिँदै गएको छ ।

उहाँले भन्नुभयो, हाम्रा समस्याहरु बढ्दै गएका छन्, विभिन्न राष्ट्रिय समन्वय समितिको चुनावका क्रममा विविध समस्या र विवाद देखा परेका छन् अब हामीले ती विवादलाई समाधान गर्नु जरुरी छ । विभिन्न स्थानमा लाखौं नेपाली रहेपनि हाम्रा संस्थामा आवद्ध ७० हजार मात्रै छन् अब सो संख्यालाई वृद्धि गरी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई एकै स्थानमा ल्याउन हाम्रो पहल केन्द्रित हुनुपर्छ । नेपालीहरुले विदेशमै पनि संयुक्त राष्ट्रसंघ जस्ता संस्थामा प्रतिनिधित्व गरिसकेको र उनीहरुको हैसियत अझ त्यो भन्दा माथि रहेको उहाँको भनाई थियो ।

संस्थाको विकासका लागि युवाहरुको भूमिका अपरिहार्य हुने भएकाले आगामी दिनमा एनआरएनले युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्ने पन्तले बताउनुभयो । संस्थालाई सामाजिक संस्थाको रुपमा कसरी विकास गर्ने भन्ने सवालमा हाल विभिन्न मुलुकमा फण्ड फाउण्डेशन र च्यारिटी मार्फत रकम संकलन गरी नेपालको विविध सामाजिक क्षेत्रमा प्रयोग गरिराखिएको उपाध्यक्ष पन्तले बताउनुभयो ।

निवर्तमान अध्यक्ष शेष घलेकै नेतृत्वमा ल्याइएको भिजन २०२० ले देखाएको मार्गचित्र अनुरुप नै संस्थाको आर्थिक, सामाजिक एवं चौतर्फी विकास सम्भव भएको उपाध्यक्ष पन्तको भनाइ थियो । उहाँले भन्नुभयो, म त्यही मार्गचित्र अनुरुप अघि बढीरहेको छु, र यहाँहरु समक्ष त्यसका निम्ति साथ र सहयोगको लागि आग्रह गर्दछु ।

समृद्ध नेपालको चाहना प्रत्येक नेपालीको भएकोले पनि त्यो चाहाना पूरा गर्नका लागि जो जहाँ भएपनि आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उहाँको भनाई थियो ।