१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड’मा नेपाली युवती

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ११:१७

लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् । नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत प्रतिस्पर्धाको सेमिफाइनलमा पुगेकी हुन् ।

उनै प्रतिष्ठा शनिबार अल्डरसटस्थित क्वीन्स एभेन्युमा तुमधिं युकेको आयोजनामा भएको १७ औं गोर्खा कप हेर्न पुगिन् ।

कार्यक्रमको प्रमुख आकर्षण रहेकी प्रतिष्ठाले आगामी शुक्रवार हुने अन्तिम प्रतिस्पर्धामा आफूले टाइटल जित्ने विश्वास व्यक्त गरिन् ।
टाइटल जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले नेपाल ब्रिटेनसँग भनिन्, ‘ अनलाइन भोटिगंमा म धेरै अगाडि छु, त्यसैको आधारमा पनि प्रतियोगितमा टाइटल हात पर्नेमा आशावादी छु ।’

सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड हुनेछ । तिनै राउण्डको आधारमा ५ देखि १० जना फाइनलमा भिड्नेछन् । मिस इंग्ल्याण्डमा भाग लिन आवेदन दिएका २२ हजारलाई उछिनेर उनी त्यहाँ पुग्न सफल भएकी हुन् ।

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन् । प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको मिस इंल्याण्डममा भाग लिएको बताइन् ।