१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा युरोपेली संसदको चुनावः कस्ले जित्यो धेरै सिट ?

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०९:१९

लन्डन — युरोपेली संघ (ईयू) का सांसद चयनका लागि बेलायतमा चुनावमा प्रमुख दल पराजित भएका छन् । चुनावमा ब्रेक्जिट पार्टीले स्पष्ट बहुमत हात पारेको छ भने ईयू पक्षधर लिबरल डेमोक्र्याट दोस्रो स्थान हासिल गरेको छ ।

युरोपेली संसद्का लागि बेलायतको चुनावमा विजयी भएपछि खुसी मनाउँदै ब्रेक्जिट पार्टी प्रमुख निगेल फराग (बीच) सहितका नेता ।

बेलायतको सत्तारूढ दल कन्जरभेटिभ र प्रमुख विपक्षी लेबरले भने चुनावमा निकै कम मत प्राप्त गरेका छन् । चुनावी परिणामअनुसार कन्जरभेटिभले १० प्रतिशत भन्दा पनि कम मत प्राप्त गर्ने लगभग निश्चित भएको छ ।

चुनावी परिणामपछि उत्साहित ब्रेक्जिट पार्टी नेता निगेल फरागले ‘आफ्नो दल आमनिर्वाचनमा कन्जरभेटिभ र लेबर दलको सामना गर्न तयार रहेको’ बताएका छन् । बीबीसीका अनुसार ब्रेक्जिट पार्टीले २९ सिट प्राप्त गरेको छ ।

लिबरल डेमोक्र्याटले १६, लेबरले १०, ग्रिनले ७, कन्जरभेटिभले ४, एसएनपीले ३ र प्लेइड साइम्रुले १ सिट प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेको लिबरल डेमोक्र्याटका उपनेता जो स्विन्सनले प्रमुख दुई दल ब्रेक्जिट मुद्दामाअसफल भएको चुनावी नतिजाले प्रस्ट पारेको बताइन् ।

उनले ‘बेलायत युरोपेली संघमा रहनुपर्ने पक्षमा रहेका जनतालाई केही राहत मिलेको’ दाबी गर्दै ‘ब्रेक्जिटबारे टुंगोमा पुग्न दोस्रो जनमतसंग्रह आवश्कय हुने’ धारणा राखिन् । सन् २०१९ को मार्च २९ मा युरोपेली संघ छाड्नुपर्ने समयसीमा गुज्रारेपछि बेलायत युरोपेली संसदको चुनाव गर्न बाध्य भएको हो ।

ईयूअन्तर्गतका सबै २८ देशले युरोपेली संसद्का सदस्य चुन्न चुनाव गरेका हुन् । चुनावमा युरोपका विगतको नतिजाको विपरीत मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू अन्य साना दलसँग निकै पछि परेका छन् । मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । उक्त दलले युरोपेली संघ समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ । इटली र फ्रान्समा राष्ट्रवादी पार्टीहरूले बढी मत पाएका छन् ।

जर्मनीमा दुवै मध्यफन्थी दलले नराम्रो हार बेहोरेका छन् । चान्सलर एंगेला मर्केलको क्रिस्चन डेमोत्र्याटसले सन् २०१४ को तुलनामा कम मत पाएको छ । त्यस्तै मध्यवामपन्थी दल सोसल डेमोक्र्याटिक युनियनले पनि विगतको तुलनामा झन्डै आधा मत ल्याएको छ ।