July 5, 2020
8:15 PM | 1:00 AM

अमेरिकी निर्वाचन र विश्व

  26th October 2016 मा प्रकाशित

नाबिल फामी
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदबार डोनाल्ड ट्रम्प स्पष्ट रुपमा सो दलको संस्थापन पक्षको पहिलो रोजाई होइनन् । नोभेम्बर ८ मा हुन गइरहेको निर्वाचनको यत्ति नजिक आएर पनि उनकै रिपब्लिकन पार्टीका केही हस्तीहरूले उनलाई अनुमोदन गर्न अस्वीकार गरिरहेका छन् र डेमोक्र्याटहरूले उनलाई कति घृणा गर्छन् भन्ने कुरा त बताइरहनु पर्दैन । तत्कालिन समयमा रिपब्लिकन पार्टी समर्थक प्राथमिक मतदाताहरूमाझ सबैभन्दा बढी लोकप्रियता आर्जन गरेकाले नै उम्मेदबार मनोनयन प्रकृयामा उनलाई पार्टीका तर्फबाट पनि समर्थन जुटेको थियो ।

अर्को तर्फ, डेमोक्र्याटिक उम्मेदबार हिलारी क्लिन्टन स्पष्ट रुपमा संस्थापन पक्षकी उम्मेदबार हुन् । पार्टीका तर्फबाट मनोनित हुनुअघि उनले विशेषगरी युवा मतदाताहरूमाझ निकै लोकप्रिय रहेका समाजवादी सिनेटर बेर्नी स्यान्डर्सको कडा चुनौतीको सामना गर्नु परेको थियो ।

ट्रम्प र स्यान्डर्स प्रवृत्तिले के जनाउँछ भने अमेरिकी मतदाताहरू परम्परागत राजनीतिक छनौटलाई सहज रुपमा लिंदैनन् । हालै गरिएको मतसर्वेक्षण अनुसार समग्र विश्लेषणमा ट्रम्प र क्लिन्टन एकअर्काबाट पाँच प्रतिशत मात्रको फरकमा रहेका छन् । दुवैको योग्यताक्रम निर्धारण विन्दु वा औकात ऐतिहासिक रुपमा न्यून छ । आगामी राष्ट्रपति पदमा जो निर्वाचित भए पनि अमेरिकी मतदाताहरूले अमुक व्यक्ति नै आफ्नो वान्छित रोजाइ नभएर त्यसको विकल्पलाई बेवास्ता गर्ने प्रवृत्तिको आधारमा निर्वाचित गर्नेछन् ।

अहिलेसम्म विवेचना गर्दा दुवै उम्मेदवारहरू नीतिगत विकल्पहरूमा कम र आफ्नो विपक्षीको कमी कमजोरीहरूमा बढी केन्द्रित भइरहेको देखिन्छ । क्लिन्टनको निर्वाचन अभियानले ट्रम्पलाई राष्ट्रपति बन्न उपयुक्त मनोदशा, ज्ञान र अनुभव नभएको भनी व्याख्या गरेको छ भने ट्रम्प अभियानले क्लिन्टनलाई भ्रष्ट राजनीतिक अवसरवादीका रुपमा चित्रित गरेको छ ।

निर्वाचनको परिणाम निर्धारण गर्ने अमेरिकीहरू आँफै हुन् तर उनीहरूले चिन्तित र व्यग्र विश्वले पनि त्यसलाई हेरिरहेको तथ्यलाई ध्यानमा राख्नुपर्छ । बाहिरी पर्यवेक्षकहरूका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको को निर्वाचित हुनेछ भन्ने होइन कि आउँदा बर्षहरूमा संयुक्त राज्य अमेरिका स्वयंको प्रभावकारी विश्वनेता बन्ने छ वा छैन भन्ने हो ।

ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय मुद्दाहरूको जटीलतालाई नबुझ्ने र विद्यमान रणनीतिक गठबन्धनहरूलाई जथाभावी अवरुद्ध गर्नेछ भन्ने बारेमा धेरै देशहरू चिन्तित छन् । साथै, जो विजयी भएपनि, अमेरिकी निष्प्रवाहीता प्रति पनि धेरै देशहरूको चिन्ता छ । अल्पकालिन संकट व्यवस्थापनलाई घरेलु विचारहरूको दृष्टिकोणबाट जोड दिने कार्यलाई अमेरिकाले निरन्तरता दिनेछ ? वा आजको अन्तरसम्बन्धित विश्वलाई आवश्यक भएको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई यसले अवलम्बन गर्नेछ ?

ट्रम्पको “पहिला अमेरिका” अवधारणा पक्कै पनि विस्तारित अन्तर्राष्ट्रिय भूमिका विपरित हो र त्यसले अमेरिकालाई एकलवादितातर्फ डोहोर्याउने छ । राजनीतिक आंँकलन गर्ने हो भने क्लिन्टनप्रतिको जनझुकावले विश्वव्यापी चुनौतीहरूमा प्राथमिकताको बढोत्तरी देखाउँछ । रक्तपात र अस्थिरताले ग्रस्त विश्वका लागि दुवै अवधारणा साहसी वा समावेशी होइनन्, विशेषगरी मध्यपूर्वको सिरिया र लिबियामा चलिरहेको द्वन्द्व र इजरायल तथा प्यालेस्टिाइनबीचको बढ्दो तनावको परिप्रेक्षमा ।

जर्ज डब्लु बुशको प्रशासनलाई सम्झने मध्यपूर्वीहरू कमै छन् र सन् २००३ मा इराकमाथि भएको हमला र कब्जाको ठूलो मूल्य हामीले अझै पनि चुकाइरहेका छौं । अनि राष्ट्रपति बाराक ओबामाको प्रशंसा गर्नेहरू पनि त्यति नै कम छन् । कारण ओबामाले जिम्मेवारी सम्हादेपछि पहिलो भाषण र त्यसपछि जुन २००९ मा कायरोमा उनले अभिव्यक्त गरेका ठूला आदर्शहरू र बाँडेका सपनाहरूका तुलनामा उनको वैदेशिक नीतिबाट प्राप्त उपलब्धिहरू यस क्षेत्रमा अपेक्षाकृत कमजोर साबित भए ।

आगामी अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको चुनौतीहरूको सम्बोधनका लागि मात्र नभई जलवायु परिवर्तन, गरिबी, महामारी, आतंकवाद, आणविक हातहतियारको प्रसार, र हरेक महादेशमा चलिरहेको क्षेत्रीय द्वन्द्वसमेत समग्र पृथ्वीलाई प्रभावित गर्ने समस्याहरूको समाधानार्थ महत्वकाङ्क्षी उपयाहरू सिर्जना गर्नु पर्नेछ । विश्वव्यापी प्रशासनका प्रयासहरूलाई दोस्रो विश्व युद्धपछि नेतृत्व दिंदै आएको संयुक्त राष्ट्रसङ्घजस्ता प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको सुधारमा उनी सहभागी हुनपर्ने र पराम्परागत राष्ट्र–राज्यहरूले जस्तै गैर–राज्य पात्रहरूले पनि प्रमुख भूमिका निर्वाह गर्न सक्ने विश्व व्यवस्थालाई उनले प्रोत्साहित गर्नुपर्ने हुनसक्छ ।
आगामी राष्ट्रपतिसमक्ष सबै मानिसको लाभका लागि नयाँ प्रविधिहरूलाई खुला बनाउने पनि धेरै अवसरहरू हुनेछन् । तर सुरक्षाजस्तै प्राविधिक र आर्थिक प्रगति तब मात्र दिगो हुन्छ जब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र बलियो सेना भएको अमेरिका जस्तो देशसहितका मुख्य अन्तर्राष्ट्रिय सरोकारवालाहरूको त्यसमा सक्रिय संलग्नता हुन्छ ।
विगत र वर्तमान्का भयहरूसँग लड्न र अझ न्यायपूर्ण तथा स्थिर विश्वव्यवस्था कायम गर्न अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूले कुनै खास मुद्दामा विपरित धारणा राखे तापनि एकअर्कासँग मिलेर काम गर्नुपर्छ । अमेरिका झुठो एकलवादको खोक्रो जालोभित्र बस्न वा रणनीतिक अन्तर्राष्ट्रिय निर्णयहरूमाथि घरेलु राजनीतिक विचारको बादलको छायाँ पर्न दिनु हुँदैन र सक्दैन पनि ।
आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई पर्खिरहेका बाहिरी पर्यवेक्षकका रुपमा हामीले यति मात्र आशा गर्न सक्छौं कि नयाँ राष्ट्रपतिले आफ्नो देशका लागि पर्याप्त बाह्य सम्मान र आस्था जगाउने अनुकरणीय व्यक्तित्वको रुपमा परिचित हुँदै विश्वमञ्चमा बुद्धिमान् र साहसी नेतृत्व प्रस्तुत गर्नेछन् ।
(फामी इजिप्टका पूर्व विदेशमन्त्री, अमेरिका तथा जापानका लागि इजिप्टका पूर्व राजदूत र कायरोस्थित अमेरिकन यूनिभर्सिटीका प्राध्यापक हुनुहुन्छ)

प्रतिक्रिया