८ बैशाख २०८१, शनिबार
Follow Us

जानकी मन्दिरमा मठाधीशको मनोमानी

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०३:३९

काठमाडौं । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको नाममा रहेको झन्डै १ हजार १८४ बिघा जमिनमध्ये १ हजार बिघा जग्गा विभिन्न व्यक्तिका नाममा बिक्री भएको पाइएको छ । सो मन्दिरको मठाधीश रामतपेश्वर दासको प्रत्यक्ष संलग्नतामा जग्गा बिक्री भएको पाइएको हो ।

जग्गा बिक्री सम्बन्धमा हालसम्म पाँचवटा आयोग तथा समितिले छानबिन गरी प्रतिवेदनसमेत पेस गरिसकेको छ । प्राप्त प्रतिवेदनका अनुसार हाल मन्दिरको नाममा सय बिघाभन्दा कम मात्र जग्गा रहेको छ । यसका साथै महन्थको जिम्मामा रहने गरेको मन्दिरका अमूल्य गरगहना, नगद तथा मूर्तिसमेत बेचबिखन भइसकेको पाइएको छ ।
गुठी संस्थानका पूर्वबोर्ड सदस्य तथा धनुषा जिल्ला गुठी सञ्चालन सहयोग समितिका पूर्वअध्यक्ष एवं पाँचवटै समितिमा रहेर कार्यसम्पादन गरिसकेका मनोजकुमार साहका अनुसार मन्दिरका महन्थ तथा गुठी संस्थानकै पदाधिकारीको मिलेमतोमा मन्दिरको सम्पत्ति अपचलन गरिएको छ । उनीहरूले अदालतलाई समेत प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय गराउनसमेत सफल भएका छन् ।
मन्दिरका महन्थ दासले मन्दिरको सम्पत्ति बेचबिखन गरी निजी अस्पताल सञ्चालनमा ल्याएका छन् । उनले मन्दिरको नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरी अवैध श्रीमतीका नाममा भारतका विभिन्न स्थानमा सम्पत्ति राखेको प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकमा खबर छ ।