१३ बैशाख २०८१, बिहीबार
Follow Us

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०७:२५

हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन ।
३ बर्ष यता जिल्लाको सदरमुकाम चैनपुरमा सिटिजन बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक,महालक्ष्मी विकास बैंक ,सनराइज बैंक, एनआइसि एसिया बैंक र छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा कुमारी बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक, खप्तड छान्ना गाउँपालिकामा प्राइम कमरसियल बैंक लगायतका प्राइभेट बैंकहरुले शाखा बिस्तार गरेका छन ।
जिल्लामा बैंकहरुको संख्या बढेपछि क्रृण लगानी गर्न, सेवाग्राहीलाई आफतिर आर्कषण गर्न पनि बैंकहरुमा एकदमै प्रतिष्पर्धा चलेको छ ।
बैंकहरु जिल्लामा भित्रिएपछि व्यापारी,उद्योगी लगायतका सर्बसाधारणले समेत क्रृण लगेर विभिन्न आर्य आर्जन गर्ने खालका व्यापारहरु गर्दै आएका छन । बंैकको संख्या बढेपछि सेवाग्राहीले चेक साट्न पनि एक दुई घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
जिल्लामा बंैकहरुको संख्या बढ्नु सेवाग्राहीका लागि एकदमै राम्रो भएकोे जयपृथ्वी नगरपालिका ३ का जन्मजय जोशीले बताए । बैंकहरुले पनि सेवाग्राहीहरुलाई छिटो छरितो सेवा दिनुको साथै सस्तो शुलभ ब्याजदरमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
सदरमुकाम चैनपुर लगायत राष्ट्रिय बाणिज्य बैंकले मष्टा गाउँपालिकामा, कृषि विकास बैंकले बुंगल नगरपालिकामा एभरेष्ट बैंकले तल्कोट र सुर्मा गाउपाँलिकामा पनि शाखा बिस्तार गरी सेवा दिइरहेको छ । यसरी गाउँमा नै बैंकहरुले शाखा बिस्तार गर्दा विकट गाउँपालिकाका बासिन्दाहरुले बैंकिङ कारोबार गर्न ५।६ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनु पर्ने बाध्यता पनि टरेको छ ।
आर्थिक कारोबार गर्ने प्रायजसो मानिसहरु सदरमुकाम केन्द्रित हुने हुँदा बैंकहरु पनि सदरमुकाममा नै केन्द्रित भएको नेपाल बंगलादेश बैंकका शाखा प्रबन्धक भिमराज पोख्रेलले बताए । बैंकहरु धेरै भएपछि बैंकहरुमा प्रतिष्पर्धा हुने हुँदा सेवाग्राहीलाई सहज हुने उनको भनाइ छ ।