७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा रहेको नेपालीहरु स्वदेश फर्कने वातावरण बन्दैछ: मन्त्री बस्नेत

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार ०८:४३

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताउनुभयो । उहाँले नेपाल समृद्धिको मार्गमा बढेको बताउनुहुँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताउनुभयो । ‘हामीले भनेका छौँ की अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उहाँले भन्नुभयो ।
मन्त्री बस्नेतले नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनुपर्ने बताउनुभयो । विदेशमा रहेका नेपालीहरुले चाहिरहेको वातावरण नेपालमा बन्ने बताउनुहुँदै उहाँले सरकारले अधिकांश नेपालीहरु स्वदेश फर्कने वातावरण बनाउने बताउनुभयो ।

‘समृद्ध नेपाल सरकारको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सरकार, नीजि क्षेत्र र स्वदेश तथा विदेशमा रहने सबै नेपालीको योगदान हुनुपर्दछ,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘यदि आम जनताको सहभागीता र अपनत्व भएन भने हामीले प्राप्त गर्ने समृद्धि दिगो हुँदैन । तपाईंहरुले जसरी नेपाल फर्कने वातावरण बन्नु पर्यो भनिरहनु भएको छ । यो छिट्टै तयार हुन्छ ।’
उहाँले नेपालको लोकतन्त्र संसार सामू गौरव गर्न लायक भएको बताउनुभयो । संसारमा समृद्धि हासिल गरेका मुलुकहरु कसैलाई गाली गरेर समृद्ध नभएको बताउनुहुँदै उहाँले राष्ट्रभाव, देशका लागि केहीं गर्छु भन्ने सोंचले मात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदीले भियनामा दूतावास स्थापनापछि अष्ट्रिया र नेपालको कुटनीतिक सम्बन्ध विस्तार भएको बताउनुभयो । उहाँले दूतावास स्थापनाले यहाँ बसोबास गर्ने नेपालीहरुलाई समेत सहज भएको बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, अष्ट्रियाका अध्यक्ष जीवन जंग कुवरले विदेशमा रहेको नेपालीहरुले विभिन्न कठिनाई भोगिरहेको र सकेसम्म स्वदेश फर्कन चाहिरहेको बताउनुभयो । ‘हामी नेपालीहरु विभिन्न कारणले विदेशमा आएर दुःख गरिरहेका छौँ । हामी स्वदेश फर्कन चाहन्छौँ, नेपाल सरकारले त्यो वातावरण बनाओस्,’ उहाँले भन्नुभयो ।