सरकारले बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेसँगै कर्मचारीको तलब रु तीन हजार ४४६ देखि नौ हजार ९२६ सम्म वृद्धि हुने भएको छ । बजेट घोषणासँगै अब मुख्यसचिवको पारिश्रमिक रु ५५ हजार २०० मारु नौ हजार ९३६ वृद्धि भई रु ६५ हजार १३६ पुगेको छ । यसैगरी राजपत्रअनङ्कित चतुर्थ श्रेणीका कर्मचारीको पारिश्रमिक रु १७ हजार २३० मा रु तीन हजार ४४६ वृद्धि भई रु २० हजार ६७६ पुगेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷०७७ को बजेट वक्तव्यमा कर्मचारीको पारिश्रमिक १८ देखि २० प्रतिशतले वृद्धि गरिने घोषणा गर्नुभएको थियो । यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वको सरकारका तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७३ सालमा राष्ट्रसेवकको पारिश्रमिक वृद्धि गर्नु भएको थियो । वृद्धि भएसँगै कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक ः

क्रसं पद राजपत्राङ्कित श्रेणी (१८ प्रतिशत वृद्धि) बढेपछिको तलब रु
अहिलेको तलबमान रु बढेको तलब रु
१ मुख्यसचिव ५५,२००।– ९,९३६।– ६५,१३६।–
२ राप विशिष्ट श्रेणी ५१,४२०।– ९,२५५।– ६०,६७५।–
३ राप प्रथम श्रेणी ४०,१५०।– ७,२२७।– ४७,३७७।–
४ राप द्वितीय श्रेणी ३४,२२०।– ६,१५९।– ४०,३७९।–
५ राप तृतीय श्रेणी ३०,५००।– ५,४९०।– ३५,९९०।–
क्रसं पद राजपत्रअनङ्कित श्रेणी (२० प्रतिशत वृद्धि) बढेपछिको तलब
अहिलेको तलब मान बढेको तलब
१. रापअ प्रथम २३,५००।– ४,७००।– २८,२००।–
२. रापअ द्वितीय २२,१७०।– ४,४३४।– २६,६०६।–
३. रापअ तृतीय १८,३४०।– ३,६६८।– २२,००८।–
४. रापअ चतुर्थ १७,२३०।– ३,४४६।– २०,६७६।–

सरकारले तलब वृद्धिको घोषणा गरे पनि कर्मचारीले भने त्यसले आवश्यकता पूर्ति नगर्ने बताएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वृद्धि भएको तलबले अहिलेको आवश्यकता पूर्ति नगर्ने बताउनुभयो । यद्यपि राज्यको स्रोत साधन हेरेर चित्त बुझाउँदै उत्साहित भई काम गर्नुपर्ने उहाँको भनाइ थियो ।