१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शिक्षक दरबन्दी समस्या टार्न स्वयंमसेवक शिक्षक खटाइने

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १७:४५

सामुदायिक विद्यालयमा गुणस्तर सुधारको दशक घोषणा गरेको सरकारले शिक्षक दरबन्दी अभाव टार्न स्वयंमसेवक शिक्षक खटाउने भएको छ । हाल करीब ५५ हजार शिक्षक दरबन्दी अपुग रहेकामा आज प्रस्तुत बजेटले नयाँ दरबन्दीका लागि रकम विनियोजन नगरी स्वयंसेवक शिक्षक खटाउने नीति लिएको हो ।

राहत शिक्षकलाई आन्तरिक दरबन्दीका आधारमा सीमित प्रतियोगिता गराउन र बालविकासका शिक्षकलाई दरबन्दीमा ल्याउन आवश्यक बजेट विनियोजन भएको छैन । हाल मुलुकका ३५ हजार ५५ विद्यालयमध्ये २७ हजार ७२८ सामुदायिक विद्यलाय छन् । सामुदायिक विद्यालयमा हाल एक लाख ५१ हजार ७४८ शिक्षक छन् । आधारभूत तहमा ५५ लाख ५५ हजार विद्यार्थी छन् ।

‘चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’ अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका गणित, अङ्ग्रेजी र विज्ञान शिक्षक नपुग भएको विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वयमसेवकको रुपमा परिचालन हुने भएको हो । ती विषयमा नपुग शिक्षकको लागि शिक्षण सिकाइ अनुदान समेत गरी रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार त्यस्ता स्वयंसेवक शिक्षकलाई मासिक रु १५ हजारका दरले सुविधा दिइनेछ ।