१२ बैशाख २०८१, बुधबार
Follow Us

बाग्लुङ समाज पोर्चुगलले ४० लाखको अक्षयकोष स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार २०:४६

भगवान गिरी, (रासस), लिस्बन, पोर्चुगल । पोर्चुगलमा रहेका बाग्लुङ्गेहरु झन्डै रु ४० लाख (तीस हजार युरो) बराबरको अक्षयकोष स्थापना गर्न जुटेका छन् । बाग्लुङको बृहत्तर विकास र प्राकृतिक विपत्ति लगायत अन्य आपतकालीन सहयोगकालागि नवगठित बाग्लुङ समाज पोर्चुगलको पहलमा उक्त रकम संकलन गर्न तीव्रता दिइएको छ ।

राजधानी लिस्बनमा आइतबार एक बृहत कार्यक्रम आयोजना गरि कोषकालागि रकम संकलन शुरु गर्दा पहिलो दिनमा नै २० हजार युरो (झन्डै रु २५ लाख) उठेको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिनुभयो । सबैभन्दा बढी हमाल ट्रस्ट पोर्चुगलले ३ हजार १ सय ११ युरो कोषकालागि प्रदान गरेको थियो ।

“तीन महिनाभित्र कानुनी प्रक्रिया पूरा गरी कोष संचालनमा ल्याउने लक्ष्य रहेको” समाजका संरक्षक, सफल ब्यबसायी एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले बताउनु भयो । बाग्लुङ्गेहरुको अन्तर्राष्ट्रिय संजाल बनाउने तयारी पनि भइरहेको उहाँले जानकारी दिनु भयो ।

पोर्चुगलमा बाग्लुङ्गेहरुको सबैभन्दा बढी बसोबास रहेको अनुमान गरिएको छ । बृहत साँस्कृतिक प्रस्तुतिसहितको आइतबार कै कार्यक्रममा पनि झन्डै ८ सयभन्दा बढी बाग्लुङ्गेहरुको उपस्थिति रहेको थियो । ब्यापार ब्यबसायमा पनि उनीहरु पोर्चुगलमा अग्रणी मानिन्छन् ।