१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारले हावादारी बजेट ल्याएको काङ्ग्रेसको आरोप

sarusaru
१६ जेष्ठ २०७६, बिहीबार ०३:१७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि प्रकट गरेको छ ।

बुधबार संघीय संसदमा प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै कांग्रेसले गत वर्ष प्रस्तुत गरिएको बजेटकै परिमार्जित निबन्धजस्तो भएको जनाउँदै हावादारी बजेट भनेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्तुत गर्नुभएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट वक्तव्य सुनेपछि कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले यो बजेट हावादारी भएको बताएका छन्।

बजेट वितरणमुखी भएको भन्दै उहाँले खर्च गर्ने क्षमता नभई कार्यक्रमहरु राखिएको पनि बताएका छन्।

बजेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले सरकारले बजेटमा उल्लेख गरेको कुरा पूरा गर्न नसक्ने भन्दै बजेटलाई हावाको संज्ञा दिएका हुन्।

बजेटबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेट यसअघि आएको बजेटकै परिमार्जित निबन्ध जस्तो भएको बताएका छन्।

अघिल्लो बजेटमा आएका कतिपय कार्यक्रम प्रभावकारी नभएको अवस्थामा पनि अहिले फेरि त्यही कार्यक्रमलाई थप बजेट आउनुले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका उब्जिएको उनले बताए।

अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड विनियोजन गरिए पनि एक प्रतिशत पनि काम नभएको भन्दै कांग्रेस प्रवक्ता अहिले त्यही कार्यक्रमका लागि ५ अर्ब छुट्टाइएको बताउँछन्।

यो बजेटमा बालश्रम अन्त्य गर्ने, बस्ती स्तानन्तर गर्ने जस्ता केही राम्रा कार्यक्रम भए पनि कार्यान्वयनको पाटो भने स्पष्ट नदेखिएको उनको भनाइ छ ।

नेपाल समाचारपत्र