१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन यूकेले उठाएको १४ लाख नपाएको पर्वतारोही निर्मल पुर्जाको गुनासो

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १३:४३

लण्डन– गैर आवासिय नेपाली संघ (एनआरएन) युकेले पर्वतारोहीको सहयोगका लागि भन्दै उठाएको रकम गायव भएको छ ।
एनआरएन यूकेले ८ हजार मिटर अग्ला सबै हिमाल आरोहण गर्ने घोषणा गरेका म्याग्दीका निर्मल पुर्जा मगरको सहयोगका लागि उठाएको १४ लाख रकम गायव भएको हो । एनआरएनले उनको सहयोगकै लागि भनेर केही पहिले १४ लाख उठाएको र मगरलाई हस्तान्तरण गर्ने बताएको थियो ।
तर घोषित सो रकम अहिलेसम्म नपाएको निर्मलले नै पुष्टि गरेका छन् ।

‘मैले एनआरएन यूकेबाट कुनै पनि सहयोग पाएको छैन, संघले १४ लाख सहयोग गर्ने घोषणा गरेको थियो’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत समेतबाट घोषणा गरिसकेपछि यसमा पारदर्शिता हुनुपर्छ । दुई किस्तामा गरेर रकम दिने भनिएपनि मैले कुनै रकम पाएको छैन ।’

एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले आफ्नो समय अभावका कारण सो रकम संकलन हुन ढिलाई भएको र केही रकम नेपाल पठाउने तयारी भएको जानकारी भाइवरग्रुप मार्फत पठाएका छन् ।

को हुन् पुर्जा ?

सन् २००३ मा बेलायती सेनामा भर्ना भएका ३५ वर्षीय निर्मलको मूल घर म्याग्दी हो । बेलायती सेनाको ‘स्पेशल फोर्स’मा छानिने पहिलो नेपाली उनले हिमाल चढ्नैका लागि २०१९ मा जागिर छाडेर हिमाल आरोहण अभियान थालेका हुन् ।
सात महीनामा आठ हजार मिटरभन्दा माथिका सबै १४ हिमाल आरोहण गर्ने उनको लक्ष्य छ ।

यसअघि उनले १० वैशाखमा अन्नपूर्ण, २९ वैशाखमा धौलागिरि, २ जेठमा कञ्चनजङ्घा र ९ जेठमा एकै दिन सगरमाथा र लोत्से, र ११ जेठमा मकालु हिमाल आरोहण गरेर ३१ दिनभित्रै यी पाँच हिमाल चढ्ने कीर्तिमान बनाइसकेका छन् ।

कात्तिकसम्म आफ्नो अभियान पूरा गर्ने उनको लक्ष्य छ ।