१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्ध्याको ‘बिर्सुं कसरी’ भिडियो सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १९:५८

राजेन्द्र पौडेलको निर्देशन

लण्डन । बेलायतको नेपाली समुदायमा क्रियाशिल एकजना फेटोग्राफर राजेन्द्र पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत पनि हो ।

बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत रहेको गीतको रचना जे सागरले गरेका हुन् ।

म्युजिक भिडियोमा नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी मोडल प्रसुना कंडेलसंगै मोडलहरु रोश्ना कार्की र विकेशराज बस्नेतले अभिनय गरेका छन् । कोरियोग्राफी अर्चना गिरी तथा मेकअप अम्बिका अधिकारीले गरेका छन् ।

म्युजिक भिडियो विमोचन कार्यक्रममा यती नेपाली एशोसिएसन अध्यक्ष ध्रुव केसी, एनआरएन यूके महासचिव आरके त्रिपाठी, सोलिसिटर राजु थापा, पत्रकार एवम एनआरएन अभियन्ता फडिन्द्र भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यसअवसरमा निर्देशक पौडेलले आफ्नो कामबारे दर्शकबाट सुझाव र प्रतिक्रिया आशा गरेको बताए ।

मोडल प्रसुना कंडेलले गैरव्यवसायिक कलाकारहरुको प्रयासमा बनेको भिडियोलाई माया तथा प्रोत्साहन गरिदिन आग्रह गरिन् । गायिका सन्ध्याले विमोचित गीतसहित अन्य केहि गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् भने संगितकार आशिष राजले पनि विभिन्न गीतहरु प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए ।
निर्देशक राजेन्द्र तथा गायिका सन्ध्याकी छोरी स्पर्श पौडेलले पनि एक सुन्दर नृत्य देखाएकी थिइन् । कार्यक्रमको संचालन पत्रकार शिव भण्डारीले गरेका थिए ।