६ बैशाख २०८१, बिहीबार
Follow Us

धामी बन्न बालकको हत्या

sarusaru
१७ जेष्ठ २०७६, शुक्रबार ०२:२१

जनकपुरधाम : धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई चकलेट दिएर घरमा थिए । ‘बालकलाई राति राखेर दूध खुवाई उनले सँगै सुताएछन्’, एसपी खनालले भने, ‘मध्यरातमा तान्त्रिक विधिअनुसार विभिन्न सामग्री चढाई घाँटी रेटी हत्या गरेछन् ।’ महतोले बालकको हत्या गरी शव घरपछाडि बाँसघारीमा फालेका थिए ।

शम्भुले भने, ‘मेरो छोरो घरअगाडि बाख्राको पाठोसँग खेल्दै थियो । शत्रुधन इनारको पानी लिन शम्भुको घरमा आए ।’ गाउँमा नाला बनाउन खाल्टो खन्दा शत्रुधनको धाराको पाइप फुटेको थियो । त्यसैले उनले शम्भुको घरबाट पानी लैजाने गरेका थिए । फर्केर आई आर्यनलाई आफ्नो घरमा लगेका थिए । शत्रुधनले पक्राउ परेपछि बालकको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले महतोलाई मोबाइल लोकेसनका आधारमा घटनाको दुई सातापछि पक्राउ गरेको थियो ।

महतोलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । धनुषा, प्रदेश र संघीय प्रहरीले बालक हत्या घटनामा ६५ जनालाई सोधपुछ गरी अनुसन्धान अगाडि बढाएको छ ।

‘चमेनी माई भाकल पूरा गर्न हत्या’

शत्रुधनले ‘चमेनी माई’ लाई बलि दिन धरिलो हतियारले घाँटी रेटेर बालकको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । हत्यापछि उनले शव गम्छामा बेरेर बाँसघारीमा फ्याँकेका थिए । शत्रुधनको साथबाट धारिलो हतियार, गम्छा, गन्जी र धोती बरामद भएको छ । जिल्ला अदालत धनुषाबाट सात दिन म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गुरुको उक्साहटमा घटना

धनुषाको बटेश्वर कुसुमिछौनाका धामी जंगली महतोको उक्साहटमा शत्रुधनले बालकको हत्या गरेको दाबी परिवारजनले गरेका छन् ।शत्रुधन पक्राउ परेपछि जंगली फरार छन् । जंगली शत्रुधनका भिनाजु हुन् । शत्रुधन जंगलीबाट झारफुक तन्त्रमन्त्र सिक्दै थिए । शत्रुधनले गत कात्तिक पूर्णिमामा धामी सिद्धिका लागि कमला नुहाएका थिए । त्यहाँ सिद्धि प्राप्त भए नरबलि दिने कबुल उनले गरेका थिए । त्यही कबुल पूरा गर्न बालकको हत्या गरेको बयान उनले दिएका छन् ।
अन्नपूर्ण पोष्ट