१३ बैशाख २०८१, बिहीबार
Follow Us

अतिक्रमित जग्गा खोज्दै वन कार्यालय

sarusaru
१७ जेष्ठ २०७६, शुक्रबार १३:५१

परासी : नवलपरासीका वन कार्यालयले जिल्लामा अतिक्रमित वन क्षेत्रको विवरण खोज्न थालेको छ। नवलपरासी दुई जिल्लामा विभाजन भएपछि कार्यालयले अतिक्रमित क्षेत्रको विवरण खोज्न थालेको हो। अहिले दुवै जिल्लासँग साविककै जिल्लाको तथ्यांक छ। उक्त तथ्यांक पाँच वर्ष पुरानो हो। हरेक वर्ष वन क्षेत्र अतिक्रमण कार्य बढेको छ।

तर कार्यालयसँग भने पुरानै तथ्यांक छ। सव डिभिजन कार्यालयमार्फत अतिक्रमित क्षेत्रको तथ्यांक संकलन गर्न लागिएको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका सहायक वन अधिकृत मुसाफिर भगतले जानकारी दिए।

पश्चिम जिल्लामा चार वटा सव डिभिजन कार्यालय छन्। सुनवल, बर्दघाट अमरौट र प्रतापपुरमा रहेका कार्यालयलाई जिपिएस प्वाइण्टबाट अतिक्रमित क्षेत्रको डाटा संकलन गर्न लगाइएको भगतले बताए।

२०७१ सालको तथ्यांकअनुसार दुवै जिल्लाको कुल वन क्षेत्र १ लाख २२ हजार ३ सय ६५ हेक्टर छ। पुरानो तथ्यांकअनुसार पश्चिम जिल्लामा कुल वन क्षेत्र २२ हजार हेक्टर छ। १ लाख ३ सय ६५ हेक्टर वन क्षेत्र पूर्वी जिल्लामा छ।

कुल वन क्षेत्रमध्ये ११ हजार ६ सय ७ हेक्टर राष्ट्रिय निकुञ्ज अन्तरगत पर्छ। दुवै जिल्लामा गरी कुल ४ हजार ९ सय १७ हेक्टर अतिक्रमण भएको छ। सबैभन्दा बढी पूर्वी जिल्लामा अतिक्रमण भएको छ। पुरानो तथ्यांकअनुसार पश्चिम जिल्लामा ७ सय ५६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। पूर्वी जिल्लामा ४ हजार १ सय ६१ हेक्टर वन अतिक्रमण भएको छ।

जिपिएसमार्फत राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमणको तथ्यांक संकलन भइरहेको छ। असार मसान्तभित्र विवरण आएपछि पछिल्लो पटक भएको अतिक्रमण क्षेत्रको वास्तविक तथ्यांक आउने डिभिजन वन कार्यालयले जनाएको छ।

सबैभन्दा बढी राजमार्ग छेउमा अतिक्रमण हुने गरेको छ। पश्चिम जिल्लामा सुनवल र अमरौटमा सबैभन्दा बढी अतिक्रमण भएको छ। त्यसैगरी पूर्वी जिल्लामा सर्दी र दुम्किवास क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ।

अतिक्रमणको प्रकृति संस्थागत बढी छ। मठ, मन्दिर, चर्च, गुम्बालगायतका धार्मिक संस्था, खेलमैदान, खानेपानी टंकी निर्माण, विद्यालयका नाउँमा वन क्षेत्र अतिक्रमण भएका छन्। त्यसैगरी खेतीपाती, हाट बजार व्यवस्थापनका नाउँमा पनि अतिक्रण भएका छन्।

केही स्थानमा वन क्षेत्र अतिक्रमण गरेर घना बस्ती नै बसालिएको छ। त्यसैगरी केही व्यक्तिहरुले टहरो र पक्की घर समेत निर्माण गरेर वन अतिक्रमण गरेको वन कार्यालयले जनाएको छ।वन अतिक्रमण गरेर संरचना निर्माण गर्नेमा जनप्रतिनिधिसमेत छन्।

अतिक्रमित संरचना हटाइयो
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रको बतासे डाँडाँमा वन क्षेत्र अतिक्रमण गरेर बनाएका संरचनालाई डिभिजन वन कार्यालयले हटाएको छ। उक्त क्षेत्रमा चारवटा पक्की टहरा निर्माण गरेर केही व्यक्तिहरु बस्दै आएका थिए। करिब पाँच वर्षअघिबाट वन क्षेत्रमा टहरा बनाएर बसेकालाई वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हटाएको डिभिजन वन कार्यालय परासीका सहायक वन अधिकृत मुसाफिर भगतले जानकारी दिए।

पक्की टहरालाई सुरक्षित बनाउनका लागि तारबार गरिरहेको अवस्थामा पुगेको टोलीले संरचनालाई भत्काएको हो। टोलीले टहरो निर्माणमा प्रयोग भएका जस्तापाता, सोलार कुर्सीलगायतका सामाग्रीहरु बरामद गरेर बडेरा क्याम्पमा राखेको वन कार्यालयले जनाएको छ।
अन्नपूर्ण पोष्ट