१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गणतन्त्र दिवसको अवसरमा म्यानचेस्टरमा विशेष कार्यक्रम (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार १८:२७

लण्डन- गणतन्त्र दिवसको अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले बिहीबार म्यानचेस्टरमा एक विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा गणतन्त्र दिवशको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि म्यानचेस्टर सिटीका लर्ड मेयर अविद लतिफ चोहानले २०३ वर्ष भन्दा लामो नेपाल—वेलायत सम्बन्धको चर्चा गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन बेलायती नागरिकहरुलाई नेपाल भ्रमण गर्न आफूले प्रोत्साहन गर्ने बताए ।

साथै उनले दुई देशका नागरिकहरुबीचको प्रगाढ सम्बन्धले आगामी दिनमा वेलायतमा नेपालको संस्कृति प्रवद्र्धन हुनाका साथै नेपालसंग पर्यटन, व्यापार, लगानी र सहयोगका क्षेत्रहरुमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

समारोहमा राजदूत डा=दुर्गा बहादुर सुवेदीले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनैतिक स्थायित्वको महान गन्तव्यतर्फ अघि बढिरहेको बिचार व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वेलायती नागरिक र गैर आवासीय नेपालीहरुलाई आफ्नो परिवार र मित्रहरुसहित नेपालको भ्रमण गर्न आग्रह गरे ।

उनले वर्तमान सरकारको प्रमुख लक्ष्य सुखी नेपाली र समृद्ध नेपालको निमार्ण गर्ने रहेको र सो लक्ष्य हाँसिल गर्नको लागि कानूनी र संरचनागत सुधार गरिरहेकोले नेपालमा लगानी र व्यापार विस्तार गर्न उपयुक्त समय रहेको बताए ।
Durham University का प्राध्यापक डा= म्यानुअल मार्कले “Ships of Gold: promoting sustainable pilgrimage, tourism and heritage development in the Greater Lumbini Area” सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुति गर्दै लुम्बिनी क्षेत्रको ऐतिहाँसिक विकासक्रम र अनुसन्धान हेर्न नेपाल भ्रमण गर्नुपर्ने विचार व्यक्त गरे ।

सो समारोहमा नेपालबाट आएका वरिष्ट गायक प्रेमध्वज प्रधानले विभिन्न राष्ट्रिय गीतहरु गाउँदै वेलायतमा रहेका नेपालीहरुलाई आफ्नो भाषा, सँस्कृति र कला नर्विसन र नेपाललाई माया गर्न आग्रह गरे ।

समारोहमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न भिडियो क्लिपहरु प्रस्तुति गर्नुका साथै पर्यटन प्रवद्र्धन सामाग्रीहरुको डिस्प्ले र वितरण गरिएको नेपाली दूतावासका प्रवक्ता शरद राज आरणले जानकारी दिए ।

समारोहमा नेपाली कलाकारहरुद्धारा विभिन्न राष्ट्रिय र आधुनिक गितहरुमा नेपालको सँस्कृति झल्कने ६ वटा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

म्यानचेस्टर आसपासका क्षेत्रका साँसद, कूटनैतिक नियोगका प्रमुखहरु मेयर, काउन्सिलरहरु, पर्यटन व्यवसायीहरु, उद्योग व्यापार सम्बद्ध व्यक्तित्व, पत्रकार, गैर आवासीय नेपालीहरुलगायत ३०० जना भन्दा बढीको समारोहमा सहभागिता रहेको थियो ।