७ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवाले भने–सरकार तानाशाही बन्न खोज्यो

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार १६:५७

बुटवल–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्।

नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन दिँदैनौँ भने । उनले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए ।

उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भए पनि घातप्रतिघातको अन्त्य हुने बताए । कार्यक्रममा पार्टीका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र फुट नहुने हो भने कुनै शक्तिले पनि काङ्ग्रेसलाई हराउन नसक्ने बताए ।

केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश नं ५ को राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसका लागि बलिदान दिनसमेत तयार रहेको बताए ।