११ बैशाख २०८१, मंगलवार
Follow Us

सुरक्षा र विकासविना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा

sarusaru
१९ जेष्ठ २०७६, आईतवार ०२:१२

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले आज आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पुर्याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ। गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गरे।

“विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित गरेर बजेटमार्फत भर्खरै विकासका योजना प्रस्तुत गरेको छ”, गृहमन्त्रीले भने। वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उनले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताए।

देशमा भएका लाखौँ बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत सरकारले योजना अघि सारेको उल्लेख गर्दै गृहमन्त्री थापाले कोही पनि रोगले नमरुन्, कोही पनि भोगले नमरुन् र कोही पनि आवासविना शीत र गर्मीले नमरुन् भनेर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा योजना र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए। सो क्रममा गृहमन्त्री थापाले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेका थिए।

गृहमन्त्री थापाले ज्ञानको शिखर पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको समेत बताए। जोशीले सामुदायिक सेवा केन्द्रले मानवीय सेवा गर्दै आएकामा प्रशंसा गर्नुहुँदै आजको जमानामा सबैभन्दा ठूलो कर्तव्य सेवा भएको बताए। गृहमन्त्रीबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको जोशीले बताए।
डिसी नेपाल