१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकार तानाशाही बन्न खोजेको देउवाको आरोप

sarusaru
१९ जेष्ठ २०७६, आईतवार ०२:१८

रुपन्देही । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्।

नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन नदिने बताए।

उनले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए।

उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भए पनि घातप्रतिघातको अन्त्य हुने बताए। कार्यक्रममा पार्टीका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र फुट नहुने हो भने कुनै शक्तिले पनि काङ्ग्रेसलाई हराउन नसक्ने बताए।

केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश नं ५ को राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसका लागि बलिदान दिनसमेत तयार रहेको बताए। केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको कम्युनिष्ट सरकारले मुलुकमा स्थापित सङ्घीयतालाई असफल बनाउने काम गरेको आरोप लगाए।

प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार जनभावना विपरीत अगाडि बढेको दाबी गरे। नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपक गिरी, देवेन्द्रराज कँडेल, सङ्घीय संसद् सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सङ्घीयसभा सदस्य प्रमोद यादव, प्रदेश नं ५, सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, महासमिति सदस्य तथा महिला सङ्घ रुपन्देहीकी सभापति गङ्गा शाही, रुपन्देहीका पार्टी उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, सैनामैना नगर सभापति रामप्रसाद अधिकारीलगायतले पार्टीभित्र गुटउपगुटको अन्त्य गर्न आग्रह गरे।
डिसी नेपाल