१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एकता फुटाउन खोज्ने प्रवृत्ति बढ्दै गयो : प्रधानमन्त्री

sarusaru
१९ जेष्ठ २०७६, आईतवार ०२:२५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्त गरेका छन्।

पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) उद्घाटन गर्दै उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको बताए।

उनले नेकपा पार्टीभित्र देखिएको दुई अध्यक्षको द्वन्द्वलाई इंगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने, फाटो बढाउने प्रवृत्ति बढ्दै गएको बताए।

उनले राष्ट्रिय भावनाभन्दा, क्षेत्रीय, जातीय वा अनेक प्रकारका संकिर्ण भावनाहरू बढ्दै गएको उनको भनाइ छ।

उनले अन्य देशहरू जेल नै नचाहिने अवस्थामा पुगेको बताउँदै नेपालामा पनि जनताले संविधान अनुरूप नै कानुन पालना गरुन् भन्ने आफूले चाहेको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न योग्य, सक्षम, स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक आवश्यक परेको बताए।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

पोखरामा शुक्रबारदेखि सञ्चालन भएको प्रथम राष्ट्रिय रोभर मुटमा १४ देशका करिब ४ हजार ५ सय युवाहरूको सहभागिता रहेको छ।

१६ देखि २५ वर्षसम्म उमेर समूहका युवाहरूले केही नयाँ ज्ञान, सीप सिक्नुका साथै विभिन्न साहसिक खेलमा सहभागी हुने कार्यक्रम रहेको संयोजक राधाकृष्ण धितालले जानकारी दिए ।
सेतोपाटी