१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लवका नेता नेकपा प्रवेश

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार ११:०७

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताउनु भएको छ । विप्लव समुह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गर्नुभएका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’

अध्यक्षले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउनुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं ।’ भने जस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्याय सहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको अध्यक्षको भनाई थियो ।

विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने बताउनुभयो । जनयुद्धकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।