११ बैशाख २०८१, मंगलवार
Follow Us

मगर संघ युकेको कन्सर्टमा यसरी झुमे नेपाली……… (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार १९:३६

लण्डन । नेपाली संगीत क्षेत्रका नयाँ, पुराना आधा दर्जनभन्दा बढी कलाकारहरुको प्रस्तुतिमा बेलायतमा नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ ।

शनिबार फार्नबरो फुटबल क्लबको खुला मैदानमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानदेखि अहिलेका चल्तीका कुलेन्द्र विक, शान्तिश्री परियारसम्मले प्रस्तुति दिए ।

कुमारी चेपांग, निकिता थापा, सञ्जय गुरुङ, पवन राना, कुमार पुन लगायतका गायकगायिकाले विभिन्न गीतहरु प्रस्तुत गरेको कार्यक्रममा नायक धिरज मगर, सलिना थापा, दिपक मैथाने लगायतका कलाकारले आकर्षक नृत्यहरु देखाए । त्यसअवसरमा धौलागिरी नौमती बाजा यूकेले पनि विशेष प्रस्तुति गर्यो ।


मगर संघ बेलायतले आयोजना गरेको नेपाली ओपन कन्सर्टका प्रमुख आकर्षण वरिष्ठ गायक प्रेमध्वज प्रधानले ‘यो नेपाली शिर उचाली’ बोलको गीत प्रस्तुत गर्दा अन्य कलाकार र दर्शकले समेत साथ दिएका थिए ।

शान्तिश्री परियारले ‘बोल माया’ र ‘गलबन्दी’ तथा कुलेन्द्र विकले ‘सालको पात’ लगायतका बहुचर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

कलाकारहरुको प्रस्तुतिमा कार्यक्रममा उपस्थित दर्शकहरु भरपुर मनोरञ्जन लिइरहेका देखिन्थे । नेपाली संगीतको रमाइलो मेला जस्तै लाग्ने कार्यक्रममा तन्नेरीदेखि बुढाबुढीसम्म सबै रमिरहेका थिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, बेलायती सांसद लियो डोकेर्टी, स्थानीय रश्मोर काउन्सिलकी मेयर सु कार्टर लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति थियो । कार्यक्रमस्थलमा नेपाली खाना, च्यारिटी, व्यवसाय लगायतका २ दर्जन स्टलहरु राखिएको थियो ।

आयोजक मगर संघ बेलायतका अध्यक्ष सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली कलाकारहरुलाई बेलायतसम्म ल्याएर सांस्कृतिक कार्यक्रम गर्ने संघको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सुरुमा औपचारिक सत्र संघका महासचिव रुद्र थापाले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष सीता पुर्जा पुनले स्वागत मन्तव्य दिएकी थिइन् । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सुर्जे गुरुङ, टेनिसा राना र दिनेश रोकाले सञ्चालन गरेका थिए ।

मगर संघ बेलायतले म्युजिक फर युनिटीको नारासहित सन् २००७ देखि वर्षेनी नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । कार्यक्रमबाट बेलायतमा नेपाली संगीत तथा संस्कृतिको जगेर्ना गर्नुको साथै बेलायतस्थित नेपालीहरुबीचको सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
तस्विर: शिव भण्डारी