७ बैशाख २०८१, शुक्रबार
Follow Us

नगरप्रमुखको कार्यकक्षमा उपप्रमुखको धर्ना

sarusaru
२१ जेष्ठ २०७६, मंगलवार ०१:४२

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन्।

नपाको विशेष नगरसभाको माग गर्दै उनीहरुले धर्ना दिएका हुन्। गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरुले नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बेवास्ता गरेको भन्दै आज प्रमुखको कार्यकक्षमा धर्ना दिएका हुन्। दिउँसो २ बजे शुरु भएको धर्ना कार्यक्रम साँझ ७ः३० बजेसम्म चलेको थियो।

जनप्रतिनिधिहरुले नगरप्रमुख श्रेष्ठलाई कार्यकक्षबाहिर जान नदिई धर्ना बसेका थिए।धर्नापछि नगरप्रमुख श्रेष्ठले उपप्रमुखलगायतको विशेष नगरसभाको माग पत्र दर्ता गर्ने तोक आदेश दिएको वडा नं १ का वडाध्यक्ष सुरज खड्काले बताए।

उपप्रमुख मधिकर्मीलगायत नपाका ३५ जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१९) को उपदफा (३) र ३ नं प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँच वटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए।

नगरपालिकाले उठाउँदै आएको करको दर समसामयिक बनाई पुनरवलोकन गर्न, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा (क) मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगरप्रमुखले काम गरेको आरोप लगाइएको छ।
डिसी नेपाल