१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भूपू गोर्खाको विवाद छताछुल्ल, ओलीलाई बेलायतमा कालोझण्डा ?

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०५:४१

लण्डन । भूपू गोर्खासम्बन्ध दुई संगठनको विवाद छताछुल्ल भएको छ । भूपू गोर्खाको हकहितको लागि भन्दै सक्रिय गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ‘सत्याग्रह संघर्ष समिति’ बीच प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी जुन १० देखि हुने बेलायत भ्रमणको विषयमा विवाद देखिएको हो ।

गेसोले प्रधानमन्त्रीको बेलायत भ्रमणबाट भूपू गोर्खाको समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्दै ओलीको स्वागत गर्नुपर्ने धारणा राख्दै ज्ञान राज राई नेतृत्वको संघर्ष समितिले ओलीलाई कालो झण्डा देखाउनेसम्मको तयारी गर्नु निन्दनीय भएको काठमाडौंमा गरेको पत्रकार सम्मेलनमार्फत बताएको छ ।

संघर्ष समितिको कार्यशैलीको गेसोले चर्को आलोचना गर्दै यसमा आफूहरुको कुनै संलग्नता र सहयोग नरहने स्पष्ट पारेको छ । गेसोका सभापति कृष्ण कुमार राईले सोमबार जारी गरेको विज्ञप्तिमा गोरखा आन्दोलनको नाममा ‘सत्याग्रह संयुक्त संघर्षद्वारा घोषणा गरिएका आन्दोलन र अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

गोरखाहरुमाथि भएको विभेद र असमानता हटाउन अझैंपनि सम्वादको ढोकाहरु खुला रहेको र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि कुटनीतिक पहल गरिरहेको अवस्थामा यस प्रकारको अराजक आन्दोलनले उपलब्धी हुन नसक्ने राईको विज्ञप्तिमा उल्लेख छ ।
गेसोले अराजक र गैरजिम्मेवार आन्दोलनमा आफूहरुको कुनै समर्थन र सहयोग नरहने पनि स्पष्ट पारेको छ ।

‘गोरखा भर्तीको यति लामो अवधि र गोरखा आन्दोलनको यति लामो इतिहासमा पहिलो पटक बेलायत सरकार आफैं सहभागी भएर गोरखाहरुको समस्या लिपिबद्ध भएको अवस्था छ’ राईले भनेका छन्, ‘यो अवस्थामा कुटनीतिक माध्यमबाट समस्याको सम्बोधनको निम्ति त्यसअनुरुप दवाव अभियान र आन्दोलन गरिनुपर्नेमा अवस्थालाई उत्तेजित बनाउने र वार्ताको सम्भावनालाई रोक्नेगरी आन्दोलन हुनु गोरखाहरुको लागि बिडम्बनापूर्ण विषय हो भन्ने हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अरोजक, गैरजिम्मेजार र उत्तेजनापूर्ण कार्यक्रम किन हुँदैछ ? उनीहरु कहाँबाट परिचालित छन् ? प्रश्नको विषय बनेको छ ।’

यद्यपि गेसोले ७ मार्च २०१९ मा बेलायती सरकारले एकतर्फी रुपमा गोरखाहरुको निम्ति प्याकेजको घोषणा गर्नुमा आफूहरुको सहमति नरहेको जनाएको छ।
यी विषयमा नेपाल सरकार, बेलायत सरकार र गोर्खाहरुबीच मिलेर समाधान गरिनुपर्नेमा गेसोले जोड दिएको छ ।

संघर्ष समितिले गोरखा भर्ती विरुद्ध अभियान, गोरखा ट्रेनिङ बन्दका लागि पत्रचार, ब्रिटीस गोरखा क्याम्पमा तालाबन्दी, बेग्लै गोरखा राज्य माग्ने, सधैँका लागि वार्ता भंग गर्ने जस्ता कार्यक्रम घोषणा गरेको गेसोको दाबी छ ।
उसले यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायत भ्रमण गर्दा कालोझण्डा देखाउने, भूमिगत हुनेलगायतका चेतावनी समेत दिएको गेसोले जनाएको छ ।

तर भूपू गोर्खा संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले गेसोले आफूहरुमाथि अनावश्यक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
‘प्रधानमन्त्री बेलायतमा आउँदा भव्य स्वागत गर्न चाहान्छौं । तर यदी उहाँले आफ्ना नागरिकको लागि केही काम गर्नु भएन भने दुखेसो स्वरुप जुलाई १ देखि भने ठूलो कार्यक्रम हुनेछ’ उनले नेपाल ब्रिटेनसँग भने ।

राईले बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । राजदूतले आफूहरुलाई नूनको सोझो गर्न सुझाएको प्रति असन्तुष्टि पोख्दै उनले आफूहरुले बगाएको रगत र पसिनाको मूल्यचाहिँ खोई भन्दै आक्रोश पोखे ।
राईले प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने कुनै योजना नरहेको भन्दै यो सबै आन्दोलनलाई बेइज्जत गर्न खोज्नेहरुले फैलाएको अफबाहमात्रै भएको प्रतिक्रिया दिए ।

उनले गेसोको आरोपमा आफूहरुले तुरुन्तै प्रतिक्रिया दिने पनि बताए । गेसोमा राजनीति र भ्रष्टाचार हावी भएको आरोप लगाउँदै राईले भने, ‘गेसोमा भएकाहरु पोलिटिक्स गर्नेहरु हुन् । उनीहरु २०१७ अघि आन्दोलन नै गर्न चाहँदैनथे । उहाँहरु आफैं तीन टुक्रा हुनुभएको छ । भ्रष्टाचार, राजनीतिक गरेको आरोप छ ।’
आफूबीचनै माराबारको अवस्थामा रहेका र गोरखा आन्दोलनलाई दबाउन खोज्नेहरुसँग आफूहरुको कुनै सहकार्य नहुने पनि उनले बताए ।

 

गेसोका सभापति कृष्ण कुमार राईले सोमबार जारी गरेको विज्ञप्ति