१५ चैत्र २०८०, बिहीबार
Follow Us

२ लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार १६:११

काठमाडौं–महागढीमाई नगरपालिका वडा नम्बर ६ बाराका निर्वाचित वडा अध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको आरोप उनीमाथि लागेको छ ।
सोबारेको उजुरीपछि आयोगको हेटौंडास्थित कार्यालयबाट खटिगएको टोलीले वडा अध्यक्ष रामजीप्रसाद बरै र सोही नगरपालिकाको वडा नं ६ का मुसहर बैठालाई घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुलाई रकमसहित कलैया उपमहानगरपालिका वडा नं ७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।