१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङ जिल्ला नेपालको नयाँ पर्यटकीय हब बन्दै

sarusaru
२२ जेष्ठ २०७६, बुधबार १२:१७

विगतमा नेपालको रणनीतिक महत्वको जिल्लाको रुपमा रहेको बागलुुङ जिल्ला पुनः नेपालको एक रणनीतिक जिल्लाको रुपमा उदाउँदै गएको छ । संभावना नं संभावनाहरु रहेको, विभिन्न अर्गानिक उत्पादन, जडिबुटी, बनजंगल, जलविद्युत जस्ता क्षेत्रको व्यापक संभावना भएको बागलुङ जिल्ला भएर मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, सालझण्डी ढोरपाटन जस्ता राष्ट्रिय महत्वका सडकखण्डहरु निर्माण हुँदै गरेको अवस्था एवं विभिन्न दश वटा स्थानीय सरकारहरुले ग्रामीण क्षेत्रको विकासमा निरन्तर समर्पित भैरहँदा बागलुङ जिल्लाका गाउँ गाउँमा सडक संजालहरु पुगेका छन् र अधिकांश बागलुङ जिल्लाका गाउँहरुमा विद्युतीकरण समेत भएको छ ।

यति मात्र हैन हाल लोकगीत र स्थानीय संस्कृतिहरुमा व्यापक धनी बागलुङ जिल्लाबाट प्रशस्त राष्ट्रिय स्तरका कलाकारहरु समेट उदाउँदै गएका छन् । पछिल्लो समय “सालको पात टपरी हुनी” मार्फत बसन्त थापा, “गलबन्दी” मार्फत प्रकाश सपुत, प्रसिद्ध लोकगीत सम्बन्धी कार्यक्रम कृष्ण कँडेल समेत बागलुङ जिल्लासँग प्रत्यक्ष रुपमा जोडिएको नाम हो । अहिले बागलुङका गाउँ गाउँमा हप्तै पिच्छे विभिन्न गीतहरुको भिडियो रेकर्डिङ नै हुन थालेको छ । जसरी ब्राजिलका यूवाहरु फुटबल खेलमा रमाउँछन् त्यसै गरी बागलुङका गाउँ गाउँमा समेत यूवाहरु लोकगीत संगीतमा रमाएको प्रष्ट देख्न सकिन्छ । लोकगीतका मार्फत पनि पुनः बागलुङ एव समग्र धौलागिरी क्षेत्र अहिले व्यापक चर्चामा छ ।

पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ बीचको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउन हामीले बागलुङका ग्रामीण भेग र बस्तीबाट पर्यटन प्रवद्र्धन अभियान संचालन गरेका छौं । यस अभियानमा संघीय सरकारले नेपालका उत्कृष्ठ १०० पर्यटकीय गन्तव्यहरुमा बागलुङको कालिका भगवती मन्दिर, पञ्चकोट, बलेवा भैरवस्थान गाजादह, एवं ढोरपाटन क्षेत्रलाई नीतिगत रुपमा पहिचान गरेर साथ दिएको छ भने हालै मात्र यस्ता पर्यटकीय गन्तव्यहरुलाई समेटेर बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको बिकासको लागि रु. ५ करोड बजेट समेत बिनियोजन गरेको छ ।
यसै गरी हालै मात्र गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका उत्कृष्ठ ११० पर्यटकीय गन्तव्यहरुमा बागलुङ जिल्लाबाट बागलुङ कालिका मन्दिर, पञ्चकोट , शालिग्राम संग्रहालय तथा रङ्गवेंकटेश मन्दिर, विहुँकोट÷रामकोट÷शिवधुरी÷झुलेनी क्षेत्र, रुद्र ताल गाजादह क्षेत्र, भैरवस्थान मन्दिर तथा भकुण्डे, जैमिनी धाम, गाईथुने, माईस्थान तथा हाँडीकोट, सत्यवती मन्दिर, बरेङ, घुम्टेको धुरी गल्कोट, गाईघाट झरना ताराखोला, ढोरपाटन क्षेत्रलाई समेटेको छ ।

नीतिगत रुपमा प्रदेश सरकारले समेत उत्कृष्ठ ११० पर्यटकीय गन्तव्यमा समावेश गरेका गन्तव्यहरुको विकासको लागि कार्यक्रम ल्याउँदैछ ।
बागलुङ जिल्ला व्यापक रुपमा पर्यटकीय संभावना बोकेको जिल्ला हो भन्नेमा संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रमा काम गर्ने प्रदेश एवं राष्ट्रिय स्तरका संस्थाहरु सबै सहमत हुनु र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा व्यापक उत्साहका लागि बागलुङ जिल्लासँग सहकार्य गर्दै जानु समेत हाम्रो लागि गौरवको विषय भएको छ । हालै मात्र गण्डकी प्रदेश सरकारबाट बागलुङ जिल्लाका विभिन्न २२ वटा सामुदायिक होम स्टेहरुको पूर्वाधार विकासको लागि प्रति होम स्टे रु. १० लाखका दरले बजेट बिनियोजन भई बागलुङ जिल्लाका विभिन्न गाउँहरुमा पैदल मार्ग, भ्यू टावर, होम स्टे अतिथि घर, पार्क निर्माण आदि कार्यहरु समेत हुँदै छन् । नयाँ नयाँ पर्यटकीय पैदलमार्गहरु पनि व्यवस्थित रुपमा बन्ने क्रममा रहेको छन् ।
तीव्र गतिमा बागलुङ जिल्लामा पर्यटकीय गतिविधिहरु संचालन भैरहँदा गण्डकी प्रदेश सरकार, बागलुङ जिल्लाका स्थानीय सरकारहरु, नेपाल पर्यटन बोर्ड काठमांडौ एवं पोखरा क्षेत्रीय कार्यालय एवं पर्यटन क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुलाई बागलुङ जिल्लाको पर्यटन विकासको लागि चाल्नुपर्ने केही रणनीतिक कदमहरु यहाँ उठान गर्न खोजिएको छ जुन यस प्रकार रहेका छन् ।

(१) हालै मात्र संघीय सरकारबाट बिनियोजन भई आएको बजेटलाई व्यापक जनसहभागितामा एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थल जोड्ने पैदल मार्ग निर्माण, ठाउँ ठाउँमा व्यवस्थित नमूना पार्क निर्माण आदिमा खर्च गर्नु आवश्यक छ , यस सन्दर्भमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

(२) हालै घोषणा गरिएका पर्यटकीय गन्तव्यहरुको विकासको लागि नीतिगत रुपमा नै निरन्तर बजेट जाने गरी सम्बोधन गर्ने । बागलुङ जिल्लाबाट उत्कृष्ठ ११० पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत गन्तव्यहरु यस प्रकार रहेका छन् । यी लगायत सम्पूर्ण पर्यटकीय गन्तव्यहरुको विकासका लागि पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यविधि अनुसार निरन्तर बजेट जाने सनिश्चिता गर्नुपर्छ ।

(३) पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रबीचको क्षेत्रलाई एकीकृत ढंगबाट विकास गर्नको लागि यस क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरी एकीकृत ढंगबाट यस क्षेत्रको पर्यटन विकासमा हामी सबै लाग्नुपर्छ ।

(४) थामनेटा देखि गाजादहसम्म सडकको ट्याक खोल्दा म्याग्दीको गलेश्वर, बेनी, तातोपानी, स्वर्गाश्रम (भकिम्ले), धम्जा बेलढुंगा, रिजालचोक, थामनेटा, गाजादह, बरेङ, शान्तिपुुर सडक (मुक्तिनाथ र लुम्बिनी जोड्ने सडक) निर्माण हुनै लागेको संभावनालाई यस क्षेत्रको पर्यटन विकासमा व्यापक रुपमा उपयोग गर्नुपर्छ ।

(५) कालीगण्डकी सभ्यता बचाऔं महाअभियानलाई व्यापक अभियानको रुपमा नै राष्ट्रिय एवं अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार हामी सबैले गर्नुृपर्छ ।

(६) म्याग्दीको गलेश्वर, सिंगा तातोपानी, स्वर्गाश्रम, बेलढुंगा, झुलेनी, शिवधुरी, त्रिपुरेश्वर महादेव मन्दिर÷विहुँकोट, कालिका भगवती मन्दिर, शालिग्राम संग्राहलय कुँडुले र पञ्चकोट सर्वसिद्धिधाम बानपालाई धार्मिक पर्यटकीय चक्रपथको रुपमा घोषणा गरेर मुस्ताङमा आउने पर्यटकहरुलाई यस क्षेत्रमा आकर्षित गर्न अभियान संचालन गर्नुपर्छ ।

(७) नेपालकै प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोट देखि संसारकोट, धम्जा बेलढुंगा, झुलेनी, विहुँकोट क्षेत्र, गाजादह, रेश, भकुण्डे, बलेवा भैरवस्थान, कुश्मा, बागलुङ भगवती मन्दिरसम्मको क्षेत्रलाई समेटेर नेपालकै नमूना पर्यटकीय पैदल मार्ग निर्माण गर्नुपर्छ । यसको लागि बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाले यस पैदल मार्गलाई गौरवको आयोजनाको रुपमा लिई पूर्वाधारहरु निर्माण गर्नुपर्छ ।

(८) बागलुङ र म्याग्दी जिल्लाको सिमाना भएर प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोट बेलढुंगा, झुलेनी, शिवधुरी, हरिचौर, घुम्टेको धुरी सम्म पैदल मार्गको निर्माण गर्न सकिने अवस्था बन्दै गएको छ ।

(९) ग्रामीण स्तरमा स्थापना भएका सामुदायिक होम स्टेहरुको अनिवार्य रुपमा सम्पर्क कार्यालय स्थापना गर्न लगार्ई हरेक होम स्टे अफिसहरुलाई ग्रामीण पर्यटन सूचना केन्द्रको रुपमा विकास गर्ने नीति अबलम्बन गर्नुपर्छ ।

(१०) बिहुँकोट, रामकोट, शिवधुरी र झुलेनी, धम्जा देउराली, बेलढुंगा, स्वर्गाश्रम, सिंगा तातोपानी क्षेत्रलाई जोड्ने गरी पैदल मार्ग सहजै निर्माण गर्न सकिन्छ ।

(१०) जैमिनीघाट, हाँडिकोट हुँदै गाजादहसम्म पैदल मार्ग सहजै निर्माण गर्न सकिन्छ । साथै बरेङको सत्यवती मन्दिर, बडिगाडमा हालै बनेको तुरतुरे तालको व्यापक प्रचार प्रसारबाट समेत बागलुङ जिल्लाले लाभ लिन सक्छ ।

(११) ग्रामीण पर्यटन प्रवद्र्धनको लागि गाउँ गाउँ र जिल्लाबाट नेपालका विभिन्न शहर र रोजगारीको लागि विदेशमा रहेका संघ संस्थाहरुसँग व्यापक प्रचार प्रसारको लागि सहकार्य हामी सबैले गर्नु आवश्यक छ ।

(१२) सामुदायिक बन एवं खुला सरकारी जग्गाहरुलाई हरेक वडा वडामा नमूना पर्यटकीय पार्कको रुपमा निर्माण गर्ने नीति अबलम्बन गर्नुपर्छ ।

(१३) ऐतिहासिक महत्वको गल्कोट क्षेत्र एवं यसको शिरमा रहेको घुम्टे क्षेत्रको व्यापक रुपमा प्रचार प्रसार गर्नु आवश्यक छ ।

(१४) बर्षको २२४ दिन विभिन्न मेला, पर्वमा रमाउने संस्कृति रहेको ताराखोला गाउँपालिकालाई नेपालकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गनुपर्छ ।

(१५) ढोरपाटन क्षेत्रको विकासको लागि केन्द्र सरकार, प्रदेश नं ५ र कर्णाली प्रदेशसँग अधिकतम सहकार्य गर्नु आवश्यक छ । ढोरपाटन क्षेत्रको विकासको लागि संघीय सरकारले राष्ट्रिय गोरवको ढोरपाटन क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम ल्याउनु जरुरी छ ।

(१६) गण्डकी प्रदेश सरकारले प्रवद्र्धन गर्ने ११० पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार, पूर्वाधारहरुको निर्माण र विकासको लागि हरेक पर्यटकीय गन्तव्यहरुलाई लक्षित गरी हरेक पर्यटकी गन्तव्यमा अलग अलग पर्यटन समिति गठन गर्ने र हरेक समितिका संयोजकहरुलाई गण्डकी प्रदेश मुल पर्यटन प्रवद्र्धन समितिमा रहने व्यवस्था मिलाउनु आवश्यक छ ।

(१७) पर्यटन क्षेत्रहरु जस्तै होटल, रिसोर्ट, यातायात, शाहसिक पर्यटन लगायतका क्षेत्रहरुमा लगानी आकर्षण गर्ने नीति अबलम्बन गर्नु आवश्यक छ ।
(

१८) हाल स्थापना भएका सम्पूर्ण सामुदायिक होम समूहहरुलाई कृषि उत्पादनमा अनिवार्य रुपमा जोड्ने नीति स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले गर्नुपर्छ ।

(१९) पर्यटन पूर्वाधारहरु जस्तै पार्क, पैदलमार्ग, भ्यू टावर, पर्यटन सूचना केन्द्र जस्ता पूर्वाधारहरु विकासको लागि सशर्त अनुदानको नीतिगत व्यवस्था गर्न सकिन्छ ।

(२०) माथि उल्लेखित सम्पूर्ण अभियानहरुको लागि थप बजेट उपलब्ध गराउन सक्ने गरी गण्डकी प्रदेशमा मुख्यमन्त्री पर्यटन प्रवद्र्धन कार्यक्रम लागू गरेर समग्र गण्डकी प्रदेशलाई विश्वकै पर्यटकहरु आकर्षण गर्ने पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु आवश्यक छ । यसको लागि बागलुङ जिल्लाका स्थानीय सरकारहरुको रचनात्मक भूमिका समेत आवश्यक छ ।

हामी सबै निरन्तर लाग्दा आगामी ५ बर्षभित्रमा नै समग्र बागलुङ जिल्लालाई ग्रामीण पर्यटकीय शहरको रुपमा विकास गर्न सकिने संभावना रहेकाले यस क्षेत्रको विकासमा हामी सबै निरन्तर रुपमा लाग्ने प्रण गरौं, बागलुङ जिल्लालाई नेपालकै महत्वपूर्ण राणनीतिक जिल्लाको रुपमा चिनाउन हामी सबैले पहल गरौं । यस क्षेत्रबाट देश तथा विदेशमा रहेका लाखौं बागलुङेहरु समेत बागलुङ जिल्लाको पर्यटन विकासमा जोडिने बेला आईसकेको छ ।
जनमञ्च