१३ बैशाख २०८१, बिहीबार
Follow Us

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव

sarusaru
२३ जेष्ठ २०७६, बिहीबार ०३:०२

नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्।

उनले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न प्रस्ताव गरेका हुन्।

संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन्।

अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन्।

थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन्।

हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा छ।

सांसदहरूले समितिमा सरकारका सचिव र मुख्यसचिव नै करारमा राख्नुपर्ने लबिङ गर्दै आएका छन्।

सांसदहरूले ध्रुमपान, सूर्तीजन्य पदार्थ सेवन र मदिरापान गर्ने व्यक्तिलाई निजामती कर्मचारी बन्न अयोग्य बनाउन समेत प्रस्ताव गरेका छन्।

कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, लक्ष्मी परियार र मिनाक्षी झाले अयोग्यताको व्यवस्था थप्न प्रस्ताव राखेका हुन्।

उनीहरूको संशोधनमा ‘धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन र मदिरापान गर्ने व्यक्ति निजामती सेवामा अयोग्य हुने उल्लेख छ।
सेतोपाटी