१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘प्रजातन्त्र र गणतन्त्रअनुकुल राष्ट्रपति चल्न नसकेको आरोप’

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७६, बिहीबार ०७:३०

– हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैनः अध्यक्ष पशुपति शमशेर राणा
– ‘कांग्रेस ढुलमुल भएर बसिरहेको छ, सरकारको गलत काम ओकल्नुपर्छ’
– ‘सरकारको काम हात्ति आयो हात्ति फुस्सा’
– ‘ओली सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेको छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन । उनले भने,‘नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पारे । राणाले थपे,‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन् । हामीसँग भएको संख्या नै काफी छ।’
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने,‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा विम्स्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाईएको र नेपालका प्रधानमन्त्री ओलीपनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाई छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिए ।
आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि सुनाए । उनले भने,‘राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’ अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको पनि सुनाए ।
उनले भने,‘उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, नेकपाले चुनावमा भारी बहुमत हाँसिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।’
शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दापनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ । उनले भने,‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ति फुस्साजस्तै छ ।’
प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको अर्को गम्भिर आरोप छ । उनले भने,‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होईन । बरु, राष्ट्र बनाउनको लागि दिएको हो । त्यो कुरा उहाँले बुझ्नुपर्छ । अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन ।’
मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको उनको आरोप छ । राणाले थपे,‘बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ । हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ । तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो ईमानदारिता देखाउन सक्नुभएन ।’
सरकारको विरोधी शक्तिहरु एकीकृत भएर सरकारले गरेका हरेक बेईमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकत्ता औंल्याए । उनले भने,‘यो सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेको छैन् । हरेकतर्फ विकृति देखो परेको छ । हामी सरकारको मनपरीको विरुद्धमा उत्रिनुपर्छ ।’
बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले अब सरकारले गरेका हरेक अकल्याण कामहरु ओकल्नुपर्छ ।’
हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ । हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले जनाए ।
तपाईहरु मुलुकमा राजसंस्था फर्काउने पक्षमा हुनुहुन्छ, त्यसका लागि कसरी अघि बढ्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘यो मुलुकमा नयाँ संविधान बनाउने प्रमुख चार शक्तिमा हामी पनि एक थियौं । संविधान जारी गर्दा हामीले यो एजेण्डामा त्यति ध्यान दिएनौं । हामी बढि हिन्दूराष्ट्रको एजेण्डामा केन्द्रित भयौं ।’
राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको खरो टिप्पणी गरे । उनले भने,‘अरवौंको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भैरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन् ।’
उनले कुनैपनि पार्टीको सदस्य नभएको र पूरानो संस्था भएकोले राजालाई निश्पक्ष राष्ट्रप्रमुखको रुपमा राख्न अनुकुल हुने कुरा आफूहरुले उठाएको सुनाए ।