६ बैशाख २०८१, बिहीबार
Follow Us

सहमति जुट्न नसकेपछि नेकपा सचिवालय बैठक स्थगित

sarusaru
२३ जेष्ठ २०७६, बिहीबार १२:२०

काठमाडौं। एकताका बाँकी काम टुंग्याउने दिशामा एकपछि अर्को अड्चन देखा पर्दै गएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका सहमति नजुटेपछि बिहीबार बस्ने तय भनेको सचिवायल बैठक स्थगित भएको छ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्न बिहीबार सचिवालय बैठक बोलाइएको थियो। मंगलबार र बुधबार बसेको सचिवालय बैठकमा नेताहरूको फरक मतका कारण निष्कर्ष निस्कन नसकेपछि बिहीबार बैठक बोलाएको थियो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएपछि बैठक स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरिएको हो। ‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो’, उनले भने, ‘त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो।’

उनका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ। प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जानुहुने बताइएको छ।

पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो। केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मंगलबारदेखि नियमित बैठक बस्दै आएको थियो ।

कार्यविभाजन सकाएपछि बाँकी रहेका सांगठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजन विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो।
७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज तोक्न बसेको सचिवालय बैठकमा मापदण्डका विषयमा नेताहरूबीच सहमति जुट्न सकेको छै् । ‘कुन–कुन मापदण्डमा टेकेर जिम्मेवारी तोक्ने भन्ने विषयमा फरक मतहरू आएका छन्,’ एक नेताले भने, ‘विभिन्न प्रस्ताव आएका छन्, निष्कर्षमा पुग्न सकिएको छैन।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केहीलाई ‘दोहोरो जिम्मेवारी’ दिन खोजेपछि विवाद बढेको हो। उनले केही मन्त्री, सांसद र प्रदेशसभा सदस्यसमेतलाई जिल्ला इञ्चार्ज र सहइञ्चार्जको भूमिकासमेत दिनेगरी प्रस्ताव गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल भने दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा उभिएका छन्।

ओलीले भने प्रदेश इञ्चार्ज तोक्दा नै दोहोरो जिम्मेवारीलाई फुकुवा गरिसकेको तर्क गरेका छन्। नेपाल पक्षले प्रदेश इञ्चार्ज तोक्दा भएको गल्तीलाई नै निरन्तरता दिने हो भने त्यसले कार्यकर्ता निराश हुने र पार्टीलाई नै क्षति पुग्ने टिप्पणी गरेको छ।
डिसी नेपाल