१२ बैशाख २०८१, बुधबार
Follow Us

हावाहुरीको वितण्डा, कम्तिमा ४० जना घाइते, सचेत रहन आग्रह

sarusaru
२४ जेष्ठ २०७६, शुक्रबार ०२:३०

काठमाडौं । पश्चिम नेपालमा बिहीबार साँझ चलेको हावाहुरीले व्यापक क्षति गरेको छ । कञ्चनपुर र कैलालीमा गरी कम्तिमा ४० जना घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरी पश्चिम तराईबाट प्रदेशन नम्बर पाँचको बर्दिया, बाँके र दाङतर्फ अगाडि बढेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।

हुरीले कञ्चनपुरमा बालबालिकासहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा धेरैजसो बालबालिका परेका छन् । पंकज चन्द, केभिन घिमिरे, इभान चौधरी रोशन पनेरु बालबालिका हुन् । यस्तै पार्वती धामी, कलावती शाही, सिर्जना धामी र डम्बरीदेवी कठायत घाइते भएका छन् ।

टोर्नाडोकै जस्तो अनुभुति भएको डीएसपी विष्टले बताए । उनले भने, ‘यो केही दिनअघि पूर्वी तराईँमा आएको जस्तै थियो, तर यसको प्राविधिक कुराबारे अलि पछि थाहा होला ।’ उनका अनुसार भीमदत्त नगरपालिकाका वडा नम्बर १, ३, ११, १२ र १७ सबैभन्दा धेरै प्रभावित भएका छन् । यद्यपी क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।

घाइतेहरुको उपचारमा प्राथामिकता दिइएको भन्दै डीएसपी विष्टले शुक्रबार अन्य भौतिक क्षतिको विवरण संकलन गरिने बताए । उनले केही स्थानमा विद्युत पोलहरु ढलेको समेत बताए ।

घरका छाना उडाउँदा तथा केही रुखका हाँगा भाँचिएर उनीहरुलाई चोटपटक लागेको हो ।

कैलालीका विभिन्न ठाउँमा बिहीबार साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण धनगढी उप–महानगरपालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको कैलालीस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ठाउँ ठाउँमा रुख ढलेका छन् भने बिजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण विद्युत पोल ढलेकाले कैलाली र कञ्चनपुरमा विद्युत आपूर्तिसमेत अवरोध भएको कैलालीको धनगढी सबैभन्दा धेरै प्रभावित भएको छ । सडकमा रुखहरु ढलेका कारण सडकसमेत अवरोध भएको जनाइएको छ ।
डिसी नेपाल